‘परान’ले ३० बढी हलमा मनायो ५१ औं दिन, आश्रमलाई न्यानो लुगा सहयोग

‘परान’ले ३० बढी हलमा मनायो ५१ औं दिन, आश्रमलाई न्यानो लुगा सहयोग

द सिनेमा टाइम्स
70
Shares

द सिनेमा टाइम्स, काठमाडौं । गत कार्तिक १४ गतेबाट देशव्यापी प्रदर्शनमा आएको सिनेमा ‘परान’ले प्रदर्शनको ५१औं दिन पूरा गरेको छ । दीपक प्रसाद आचार्य ‘काकु’को डेव्यु निर्देशनमा निर्माण भएको यो सिनेमाले शनिबार प्रदर्शनको ५१औं दिन पूरा गरेको हो । अझै देशभरका आधा दर्जनभन्दा बढी हलमा यो सिनेमा प्रदर्शनरत छ ।

यो वर्ष ५१औं दिन मनाउने यो तेस्रो सिनेमा हो । यसअघि ‘ऊनको स्वीटर’ र ‘जेरी अन टप’ले ५१औं दिनको सेलिब्रेसन गरेका थिए । प्रदर्शनको ५१औं दिन पूरा भएको अवसरमा सिनेमाको निर्माण पक्षले टोखास्थित अनाथ आश्रममा न्यानो कपडा वितरण गरेको छ । केही दिनमा ‘सक्सेस पार्टी’ पनि आयोजना गरिँदैछ । सिनेमाले ५१ दिनसम्म बक्स अफिसमा करिब १७ करोड ६० लाख रुपैयाँको ग्रस व्यापार गरेको जनाइएको छ ।

नेपाली सिनेमाको इतिहासमा सर्वाधिक कमाइ गर्ने चौथो सिनेमा ‘परान’ बनेको छ । प्रदर्शनको ५ दिनसम्म बक्सअफिसमा कमजोर अवस्थामा रहेको सिनेमाले छैटौं दिनबाट व्यापारिक रफ्तार समातेको थियो । दर्शकबाट बलियो ‘वर्ड अफ माउथ’ प्राप्त हुँदा सिनेमाले प्रदर्शनको पाँच साता आक्रामक कमाइलाई जारी राख्यो । मंसिरसम्म हलहरूमा ‘परान’कै दबदबा देखिएको थियो ।

बाबु-छोराको भावनात्मक सम्बन्धको कथामा आधारित सिनेमामा नीर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, अञ्जना बराइली, महेश त्रिपाठी, प्रवीण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुब्रतराज आचार्य, सुरेश थापा, बिनोद राई र बाल कलाकार आर्यादीप आचार्य लगायत कलाकारको अभिनय छ ।

बाइस्कोप सिनेमाको व्यानरमा निर्माण भएको सिनेमामा रिदम कंडेलको संगीत, शिवराम श्रेष्ठको डिओपी, मित्र डि गुरूङको सम्पादन गरेका छ ।