‘आ बाट आमा’को जापान प्रदर्शन अधिकार बिक्री

‘आ बाट आमा’को जापान प्रदर्शन अधिकार बिक्री

द सिनेमा टाइम्स
56
Shares

द सिनेमा टाइम्स, काठमाडौं । चन्द्र पन्त निर्देशित सिनेमा ‘आ बाट आमा’को जापान प्रदर्शन अधिकार बिक्री भएको छ । ओम शान्ति ओम इन्टरटेनमेन्टले सिनेमाको जापान प्रदर्शन अधिकार खरिद गरेको हो ।

यसअघि पनि थुप्रै नेपाली सिनेमा जापानमा रिलिज गरिसकेका ओम शान्ति ओम इन्टरटेनमेन्टका प्रमुख ईश्वर श्रेष्ठ हुन् । उनी नेपाली सिनेमाका निर्माता समेत हुन् । निर्देशक चन्द्र पन्तले जापान अघि नै अस्ट्रेलिया, न्यूजील्याण्ड, युएई, कतार, बहराइन र इजरायल लगायतका देशमा प्रदर्शन अधिकार बिक्री भइसकेको बताए । अन्य देशमा सिनेमाको प्रदर्शनका लागि उच्च माग भैरहेको दाबी निर्माण टिमको छ ।

आर्या इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको सिनेमाको गीत र टिजर रिलिजपछि विदेशमा पनि माग बढेको छ । निर्देशक पन्तकै कथा तथा पटकथा रहेको सिनेमामा विपना थापा, पल शाह, प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित बिष्ट, बेगम नेपाली लगायतको मुख्य भुमिका रहेको छ ।

अभिमन्यू निरवीको समेत लेखन रहेको सिनेमाको संवाद लेखनमा अमर न्यौपाने, निरवी र निर्देशक पन्तले सहकार्य गरेका छन् । यो सिनेमामा डिओपीमा नवराज उप्रेती, संगीतमा कोशिस क्षेत्री, बाबुल गिरी, थानेश्वर गौतम र कोरियोग्राफीमा गम्भिर बिष्ट र दिलिप ओखेडा छन् ।

कृष्ण प्रसाद सुवेदी, ओमकार पन्त, प्रकाशजंग कुँवर, ध्रुवप्रसाद न्यौपाने र क्षितिज ढुंगाना निर्माता तथा करण सिंह रसाइली कार्यकारी निर्माता रहेको सिनेमाको ट्रेलर–टिजर शाहिल खानले तयार गरेका हुन् । आगामी माघ १६ गते रिलिज हुने सिनेमाको वितरण आरआर फिल्मस्ले गर्दैछ ।