द सिनेमा टाइम्स, काठमाडौं । रोशन दासको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमा ‘प्रतिवैरम्’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । मधेस केन्द्रित सामाजिक तथा राजनीतिक विषयवस्तुमा आधारित सिनेमाको सार्वजनिक पोस्टरले गम्भीर, भावनात्मक र शक्तिशाली कथावस्तुको झल्को दिन्छ ।
बुधबार सार्वजनिक पोस्टरमा आगो, पीडा र प्रेमको प्रतीकात्मक संयोजनमार्फत कथाको गहिराइ उजागर गरिएको छ । सिनेमाका मुख्य कलाकारद्वय सम्राट दास र सुप्रज्ञा शर्माको सशक्त उपस्थिति पोस्टरको केन्द्रमा छ । पोस्टरले संघर्ष, संवेदना र विद्रोहको भाव एकसाथ प्रस्तुत गरेको देखिन्छ ।
मुख्य अभिनेता सम्राट दास पोस्टरमा एकदमै फरक र प्रभावशाली अवतारमा देखिएका छन् । उनको आँखाको भाव, शारीरिक भाषा र क्यारेक्टर लुकले पात्रभित्रको आक्रोश, संघर्ष र जिम्मेवारीलाई जीवन्त बनाएको छ । निर्देशक रोशन दासका अनुसार ‘प्रतिवैरम्’ सम्राटको डेब्यु सिनेमा भएपनि यो भूमिका करियरकै महत्वपूर्ण र सम्झनलायक हुनेछ ।
त्यसैगरी मुख्य अभिनेत्री सुप्रज्ञा शर्माको भावनात्मक प्रस्तुति पनि पोस्टरमा विशेष देखिएको छ । उनको अनुहारमा झल्किएको पीडा, प्रेम र भरोसाले कथाको मानवीय पक्षलाई अझ सशक्त बनाएको छ । जसले पोस्टरलाई प्रभावशाली बनाएको छ ।
रेज इन्टरटेनमेन्टले किङ वाईटीसँग सहकार्यमा निर्माण गरेको सिनेमामा सम्राट र सुप्रज्ञासहित बिरेन्द्र कुशवाहा, आलिशा बस्तोला, रोन्नी यादव, बिक्की शाह, नवीन श्रेष्ठ, गीता श्री, अशिष डीके, प्रदीप ढकाल, नारायण बीके, बिके शाह, रामेश बुढाथोकी लगायतका कलाकारको अभिनय छ ।
निर्देशक रोशन दासका अनुसार मधेसका वास्तविक कथा, सौन्दर्य र सामाजिक-राजनीतिक समस्यालाई यथार्थपरक ढंगले प्रस्तुत गर्ने उद्देश्यले सिनेमा निर्माण गरिएको हो । सिनेमाले मधेसको वास्तविक जीवन र संवेदनालाई दर्शकमाझ पुर्याउने योजना रहेको बताए । कविर वोडले सम्पादन गरेको सिनेमाको कथा निर्देशक दास स्वयंम् र पटकथा युवराज भट्टराईले लेखेका हुन् ।
यो सिनेमा २०८३ सालको जेठ महिनामा प्रदर्शनमा ल्याउने तयारी भइरहेको छ । नेपाली, हिन्दी, मैथिली र भोजपुरी भाषामा निर्माण गरिएको सिनोमा बहुभाषिक स्वरूपको सिनेमाको डिजिटल अधिकार युना डिजिटलले खरिद गरेको छ ।



प्रतिक्रिया