‘जिरो डिग्री’बाट अभिनयमा डेब्यु गर्दै ‘एक्टरः टेक वन’ निर्देशक राजन भुसाल

‘जिरो डिग्री’बाट अभिनयमा डेब्यु गर्दै ‘एक्टरः टेक वन’ निर्देशक राजन भुसाल

द सिनेमा टाइम्स
63
Shares

द सिनेमा टाइम्स, काठमाडौं । अभिनेता विजय बराल मुख्य भूमिका रहने सिनेमा ‘जिरो डिग्री’बाट निर्देशक राजन भुसाल अभिनयमा डेब्यु गर्ने भएका छन् । उनी सिनेमाको कथाकार समेत हुन् । यो सिनेमाको निर्देशन सजन काफ्ले र आकास बरालले संयुक्त रूपमा गर्दैछन् । यी निर्देशकद्वयले यसअघि ‘बेहुली फ्रम मेघौली’ निर्देशन गरेका थिए ।

गत वर्ष प्रदर्शनमा आएको सिनेमा ‘एक्टरः टेक वन’बाट भुसाल निर्देशक रुपमा दर्शकमाझ परिचित छन् । डार्क कमेडी शैलीमा समाजको गहिरा यथार्थ उजागर गर्ने सिनेमा ‘जिरो डिग्री’को पटकथा तथा संवाद निर्देशकद्वय काफ्ले र बरालले नै लेखेका हुन् । सडक नपुगेको एक दुर्गम गाउँमा केन्द्रित कथा जहाँ आमाबुवाको निधन भएपछि विदेशमा रहेका छोराछोरी आइपुगुन्जेल शव सुरक्षित राख्न डीप फ्रिज बोकेर गाउँ पुगेपछि सिर्जना हुने अनौठा र उथलपुथलपूर्ण घटनाहरू प्रस्तुत गरिनेछ ।

सिनेमाको यसअघि सार्वजनिक पोस्टरमा कलाकारको अनुहारभन्दा कथाको केन्द्रबिन्दु डीप फ्रिज लाई प्राथमिकता दिइएको थियो । यो सिनेमा छायांकन सुरु हुने चरणमा रहेकाले अहिले निर्माण टिम लोकेसन खोज्न देशका विभिन्न स्थानमा पुगिरहेको छ । आगामी वर्ष प्रदर्शनमा ल्याउने तयारी गरिएको सिनेमाको वितरण कुबेर सिने डिस्ट्रिब्युसनले गर्नेछ ।

मेघौली फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको सिनेमाका कार्यकारी निर्माता मोती कार्की हुन् । निशाल पौडेलले छायांकन गर्ने सिनेमाका गीतमा अंकित बाबु अधिकारीले संगीत भर्नेछन् । ‘ऊनको स्वीटर’को चर्चित गीत ‘काफ्ले’का रचनाकार युवराज काफ्लेले गीत लेख्नेछन् ।