द सिनेमा टाइम्स, काठमाडौं । आगामी बैशाखदेखि ‘घुमौं कर्णाली, हेरौं कर्णाली’भन्ने नारासहित तेस्रो ‘कर्णाली अन्तर्राष्ट्रिय सिनेमा महोत्सव’ सुरु हुने भएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमका बीच वन तथा वातावरण मन्त्री माधव चौलागाई, कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, अभिनेता शिव श्रेष्ठ लगायतले महोत्सवको औपचारिक शुभारम्भ गरेका हुन् ।
नेपाली सिनेमाको प्रवद्र्धनसँगै सिनेमा पर्यटनको सम्भावनालाई उजागर गर्ने उद्देश्यले आयोजना हुँदै आएको यो महोत्सवले सहरदेखि गाउँसम्म सिनेमा र पर्यटनलाई जोड्ने लक्ष्य लिएको महोत्सवका निर्देशक चक्रबहादुर चन्दले बताए । उनका अनुसार महोत्सवले कर्णालीका कथा, संस्कृति, जीवनशैली, भाषा, भेषभुषा र परम्परालाई संरक्षण तथा प्रवद्र्धन गर्नेछ ।
उनले कार्यक्रममा भने, ‘कर्णालीका कथालाई सिनेमामा रूपान्तरण गर्न हामीले कथा आह्वान गरेका छौं । उत्कृष्ट कथालाई बैशाखमा सम्मान गरिनेछ र सम्भव भए सिनेमा निर्माण पनि गरिनेछ ।’ सिनेमामार्फत पर्यटन प्रवद्र्धन र जलवायु परिवर्तनसम्बन्धी सन्देश प्रवाह गर्नु महोत्सवको अर्को महत्त्वपूर्ण उद्देश्य रहेको पनि उनले स्पष्ट पारेका थिए ।
यो कार्यक्रममा बोल्दै वन तथा वातावरण मन्त्री माधव चौलागाईले मौलिक कथाका लागि कर्णाली उत्कृष्ट ‘हटस्पट’ रहेको बताए । यो महोत्सवले कर्णालीको भाषा, संस्कृति र भेषभुषा विश्वमा चिनाउने विश्वास व्यक्त गर्दै उनले अगाडि भने, ‘कर्णालीको आत्मविश्वास बढाउने प्रमुख माध्यम नै सिनेमा हो । कला भनेको यस्तो माध्यम हो, जसले छोटो समयमा मानिसको सोच परिवर्तन गर्न सक्छ ।’
यो महोत्सवका सद्भावना दूत प्रदीप खड्काले कर्णालीलाई दयाको दृष्टिले नभइ गौरवको दृष्टिले हेर्नुपर्नेमा जोड दिए । ‘कर्णाली हाम्रो भाषा, साहित्य, कला र संस्कृतिको उद्गमस्थल हो । नेपाली सिनेमा ढिला सुरु भएपनि मौलिकतामा हामी पछि छैनौं । यदि नेपाली सिनेमालाई नयाँ उचाईमा लैजाने हो भने त्यसको केन्द्र कर्णाली हुन सक्छ,’ उनले भने ।
कर्णाली महोत्सव चार चरणमा सञ्चालन हुने जनाइएको छ । पहिलो चरण अन्तर्गत सुर्खेतमा बैशाख ४ गते, दोस्रो चरणमा बैशाख ५ गते गुराँस सिनेमा पर्यटन संवाद, बैशाख २६ गते काठमाडौंमा कर्णाली अन्तर्राष्ट्रिय सिनेमा पर्यटन तथा जलवायु अवार्ड र जेठ २७ गते जुम्ला तातोपानी पर्यटन सिनेमा जलवायु समिट आयोजना हुनेछ ।


प्रतिक्रिया