द सिनेमा टाइम्स, काठमाडौं । आगामी माघ १ गतेबाट देशब्यापी प्रदर्शनमा आउने सिनेमा ‘मिरमिरे’ रिलिज हुँदा दयाहाङ राई र सिर्जना निङलेखुको अनस्क्रिन जोडी दोहोरिनेछ । यसअघि यो अनस्क्रिन जोडी सिनेमा ‘कार्साङ’मा देखिएको थियो । सोही जोडीलाई फेरि एकपटक दर्शकले ‘मिरमिरे’मा हेर्न पाउने छन् ।
संयोग चाहिँ के छ भने यो जोडीलाई तिनै निर्देशकले दोहोर्याए, जसले सिनेमा ‘कार्साङ’ निर्देशन गरेका थिए । यम शेर्पा नै ‘मिरमिरे’का निर्देशक हुन् । यमले नै तीनजना अथवा निर्देशक र मुख्य कलाकार (नायक र नायिका) फेरि एक ठाउँ आएर काम गर्ने मेसो मिलाएका हुन् । किन निर्देशक यमले आफ्नो दोस्रो सिनेमामा पनि दयाहाङ र सिर्जनालाई नै लिए ?
‘एकपटक काम गरिसकेपछि त्यही व्यक्तिसँग काम गर्न सहज हुने रहेछ । पहिलोपटक काम गर्दा नै उसको काम गर्ने तरिका र शैली थाहा हुन्छ, आनीबानी पनि थाहा हुन्छ,’ जवाफमा निर्देशक यम भन्छन् ‘दोस्रो कुरा दयाहाङ राई यसै पनि सबैले रुचाएको सर्वप्रिय नायक हुनुहुन्छ । नायिकाको सन्दर्भमा पहिलो सिनेमामा सँगै काम गरेकाले सहज हुने कुराले दोहोर्याएको हो ।’
सिनेमाको कथाले पनि दयाहाङ र सिर्जना जस्तै पात्र मागेकाले स्क्रिप्टमा बस्दादेखि नै आफ्नो दिमागमा दयाहाङ र सिर्जना रहेको उनले सुनाए । कथाको माग र पहिले पनि सँगै काम गरेकाले सहजताको अपेक्षाले निर्देशक र मुख्य कलाकारबीचर त्रिकोणात्मक सहकार्य दोहोरिएको निर्देशम यम प्रष्ट पार्छन् । निर्देशक यम शेर्पाको लेखन रहेको सिनेमामा दयाहाङ र सिर्जनासहित मुख्य भूमिकामा प्रकाश सपूत पनि छन् । दयाहाङ र प्रकाशको यो पहिलो सहकार्य हो । शाइसा गौचन सिनेमाको अर्को मुख्य पात्र हुन् । उनले दयाहाङको छोरीको भूमिका निभाएकी छन् ।
केही समयअघि सार्वजनिक गरिएको टिजरले छोरीका लागि बाउले गरेको संघर्ष देखाएको छ । जसमा आमाले घर छोडेपछि छोरी र बाउ मात्रै घरमा हुन्छन् । सानी छोरी, जो आफैँ केही गर्न सक्दिनन् । त्यसैले उनका लागि सबै बुवाले नै गर्नुपर्छ । छोरीको स्याहार, घरको काम, छोरीको स्कुल र आफ्नो जागिर कसरी एक्लै बाउले गर्छ ? यही क्रममा बाउले छोरीप्रति निभाएको कर्तव्य देखिन्छ । छोरीले आफ्नो बुवालाई गर्ने माया र छोरीका लागि बुवाले गर्ने त्यागको कथा लिएर आउँदा दर्शकले मन पराउनेमा ‘मिरममिरे’को निर्माण टिम ढुक्क छ ।
यार्सा फिल्मस्को प्रस्तुति रहेको सिनेमामा दयाहाङ, प्रकाश, सिर्जना, शाइसासहित माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, दिविशा पन्त, चिराग श्रेष्ठ, नमनराज गजुरेलको अभिनय छ । निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता रहेको ‘मिरमिरे’का सह-निर्मातामा गोविन्द बोहरा, सुदिप कुँवर छन् । यो सिनेमाको कार्यकारी निर्मातामा वितरक रोहित कट्टेल छन् ।
वीरेन्द्र शाही लाइन प्रोड्युसर रहेको सिनेमामा सुदीप कुँवर मुख्य सहायक निर्देशक, सञ्जु थलाङ लिम्बु मेकअप र दिलीप पन्त निर्माण नियन्त्रक हुन् । सिनेमाको देशभर वितरण रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मस्ले गर्नेछ ।


प्रतिक्रिया