चितवनको कालिका नगरपालिकाको श्री माध्यमिक विद्यालयमा सिनेमा साक्षरता कार्यक्रम सम्पन्न

चितवनको कालिका नगरपालिकाको श्री माध्यमिक विद्यालयमा सिनेमा साक्षरता कार्यक्रम सम्पन्न

द सिनेमा टाइम्स
56
Shares

द सिनेमा टाइम्स, काठमाडौं । चोया डिजिटल सोलुसनको आयोजना तथा सेलिब्रेटी नेपालको व्यवस्थापनमा चितवनको कालिका नगरपालिका-२ स्थित श्री माध्यमिक विद्यालय सहपुरमा सिनेमा साक्षरता कार्यक्रम सम्पन्न भएको छ । यो कार्यक्रम चलचित्र विकास बोर्ड र कालिका नगरपालिका-चितवनको सहकार्यमा २०८२ पुस १३ गते सम्पन्न भएको हो ।

यो कार्यक्रममा विद्यालयमा अध्यनरत करिब १५० जना विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो । सिनेमाप्रति विद्यार्थीहरूमा सचेतना अभिवृद्धि, आलोचनात्मक दृष्टिकोण विकास र सिर्जनात्मक सोचलाई प्रोत्साहन गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको जनाइएको छ ।

कालिका नगरपालिका वडा नंम्वर २ का वडा अध्यक्ष तथा नगर प्रवक्ता लक्ष्मण पौडेल, चोया डिजिटल सोलुसनका अध्यक्ष राजकुमार सिलवाल, चलचित्र पत्रकार संघका महासचिव रघुनाथ सापकोटा, श्री माध्यमिक विद्यालय सहपुरका प्रधानाध्यापक प्रेम अधिकारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सोमबहादुर गुरुङ, वडा सदस्य चित्रबहादुर भण्डारी, सिनेमा निर्देशक अमरदीप सापकोटा लगायतको उपस्थिति रहेको थियो ।

यो कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष तथा नगर प्रवक्ता लक्ष्मण पौडेलले डिजिटल युगमा सिनेमा शिक्षाको आवश्यकता हझ बढ्दै गएको उल्लेख गर्दै यस्ता कार्यक्रमले विद्यार्थीहरूको सिर्जनशीलता, सामाजिक चेतना र अभिव्यक्तिको क्षमता विकासमा सकारात्मक प्रभाव पार्ने बताए ।

विद्यालयका प्रधानाध्यापक प्रेम अधिकारीले विद्यालयमा यस्ता ज्ञानमूलक तथा व्यवहारिक कार्यक्रम आयोजना भएकोमा खुशी व्यक्त गर्दै आयोजक र सहकार्य गर्ने सबै निकायप्रति धन्यवाद व्यक्त गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सोमबहादुर गुरुङले पनि कार्यक्रमले विद्यार्थीहरूको सोच र दृष्टिकोण फराकिलो बनाउने विश्वास व्यक्त गरेका छन् ।

यो कार्यक्रममा मिलन चाम्स निर्देशित सिनेमा ‘अञ्जिला’ हेरेपछि सहभागी विद्यार्थीहरूले सिनेमा साक्षरता कार्यक्रमले सिनेमा बुझ्ने, विश्लेषण गर्ने र सिर्जनात्मक रूपमा प्रयोग गर्ने सीप विकास गर्न सहयोग पुगेको प्रतिक्रिया दिएका थिए ।