‘आ बाट आमा’को शीर्ष गीत ‘लैजा खबर ए हावा’को कभर गायन र अभिनय प्रतियोगीता घोषणा

‘आ बाट आमा’को शीर्ष गीत ‘लैजा खबर ए हावा’को कभर गायन र अभिनय प्रतियोगीता घोषणा

द सिनेमा टाइम्स
35
Shares

द सिनेमा टाइम्स, काठमाडौं । आगामी माघ १६ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘आ बाट आमा’को शीर्ष गीत ‘लैजा खबर ए हावा’को कभर गायन र अभिनय प्रतियोगीता आयोजना गरिएको छ । सोमबार घोषणा गरिएको यो कभर गायन र अभिनय प्रतिस्पर्धाको विजेताले जनही ५० हजार पुरस्कार प्राप्त गर्नेछन् ।

यो प्रतियोगितामा सहभागी हुन इच्छुकले गीतको कभर गाउनु पर्ने तथा अभिनयमा रुचि हुनेले अभिनय गर्नु पर्नेछ । आ-आफ्नो विद्यामा भिडियो निर्माण गरेर माघ १२ गतेभित्र टिकटकमा अपलोड गरेको हुनुपर्ने छ । यो मितिसम्म अपलोड भएका भिडियोहरूलाई मात्र प्रतिस्पर्धामा समावेश गरिने निर्माण पक्षले जनाएको छ ।

यो प्रतियोगितामा सहभागी मध्येबाट उत्कृष्ट अभिनयसहितको भिडियो चयन गरी माघ १४ गते विजेतालाई ५० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने निर्देशक चन्द्र पन्तले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा सहभागी हुनेले भिडियो अपलोड गर्दा ओएसआर डिजिटलको टिकटकमा मेन्सन गर्नु पर्नेछ ।

आर्य इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको सिनेमा ‘आ बाट आमा’को यो गीत यतिबेला सामाजिक सञ्जालमा चर्चामा छ । निर्देशक पन्तकै कथा तथा पटकथामा निर्माण भएको सिनेमामा विपना थापा, पल शाह, प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित बिष्ट र बेगम नेपाली लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

अभिमन्यू निरवीद्वारा लिखित संवादमा अमर न्यौपाने र चन्द्र पन्तले सहकार्य गरेका छन् । कृष्ण प्रसाद सुवेदी, ओमकार पन्त, प्रकाशजंग कुँवर, ध्रुव प्रसाद न्यौपाने र क्षितिज ढुंगाना निर्माता रहेको सिनेमाका कार्यकारी निर्माता करण सिंह रसाली हुन् । कोशिस क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतमको संगीत गम्भिर बिष्ट र दिलिप ओखेडाको कोरियोग्राफी नवराज उप्रेतीको डिओपी सिनेमामा छ ।