अग्रेजी नयाँ वर्षमा प्रदीपको साइन्स फिक्सन ‘एक्लो १’ देशव्यापी प्रदर्शनमा

अग्रेजी नयाँ वर्षमा प्रदीपको साइन्स फिक्सन ‘एक्लो १’ देशव्यापी प्रदर्शनमा

द सिनेमा टाइम्स
84
Shares

द सिनेमा टाइम्स, काठमाडौं । नेपालमा पहिलो पटक निर्माण भएको साइन्स फिक्सन जनराको सिनेमा ‘एक्लो १’ अग्रेजी नयाँ वर्षको अवसरमा देशव्यापी एकसाथ प्रदर्शनमा आएको छ । फरक धार र नवीन प्रस्तुतिका कारण चर्चामा रहेको सिनेमाले एक्सन, ड्रामा र भावनात्मक तत्वको सन्तुलित संयोजनमार्फत दर्शकलाई अविस्मरणीय अनुभव दिने दाबी निर्माण पक्षको छ ।

नेपाली सिनेमालाई अन्तर्राष्ट्रिय बजारमा फरक ढंगले प्रस्तुत गर्ने उद्देश्यसहित निर्माण गरिएको ‘एक्लो १’ ले कथा, प्रस्तुति तथा प्राविधिक पक्षमा नयाँपन ल्याउने अपेक्षा गरिएको छ । फरक कथावस्तु र सशक्त निर्माणका कारण सिनेमाले मध्यपूर्वसहित अन्तर्राष्ट्रिय बजारका नेपाली दर्शकमाझ सकारात्मक प्रतिक्रिया पाउने विश्वास गरिएको छ ।

प्रदीप शाहीको लेखन तथा निर्देशनमा निर्माण भएको सिनेमाको गत डिसेम्बर २८ तारिखमा अमेरिकाको न्युयोर्कस्थित विश्वप्रसिद्ध म्युजियम अफ द मुभिङ इमेजमा ऐतिहासिक प्रिमियर गरिसकेको छ । यो साइन्स–फिक्सन सिनेमाका निर्देशक प्रदीप शाही बेलायतमा बसेर सिनेमा निर्माणमा सक्रिय छन् । ‘एक्लो १’ निर्देशक शाहीको तेस्रो निर्देशन हो । हलिउडस्तरको भिजुअल, प्रविधि र कथावस्तु प्रस्तुत गर्ने लक्ष्यसहित सिनेमा निर्माण गरिएको हो ।

सिनेमामा प्रदीप खड्का, विजय लामा, सुनील थापा, दिया पुन, वेनिशा हमाल, दिनेश डीसी, कविता नेपाली, सुरजसिंह ठकुरी, एवन राज उप्रेती, त्रिचु राई, कृष्णभक्त महर्जन, विकास अधिकारी, दिग्गज खत्री, श्रीशेष श्रेष्ठ, बाल कलाकार जेमिन श्रेष्ठ र स्योन सविक सिंह लगायतका कलाकारको अभिनय छ । बेलायती अभिनेता जेमी बेकनको महत्वपूर्ण भूमिका समावेश गरिएको छ ।

राजुकुमार गुरुङ, हरि श्रेष्ठ, विष्णु तामाङ, उत्सव विष्ट, भाइराजा थापा, नवीन सिवा, बागवीर पुन, भुवन अधिकारी, संगीता वादी श्रेष्ठ, रितेश राना, सुशील प्रजापति र शशिकला गुरुङ निर्माता रहेको सिनेमाका कार्यकारी निर्माता विनोद सुवेदी ‘क्षितिज’ हन् ।

सिनेमामा बाबु श्रेष्ठको छायांकन, राजु तामाङ द्धन्द्व निर्देशन, राजु पेन्टरको सेट डिजाइन, सन्तोष लामाको कला निर्देशन र प्रोडक्सन डिजाइन द्रोणप्रसाद पौडेल ‘ठेउके’को छ ।