द सिनेमा टाइम्स, काठमाडौं । चर्चित टेलिभिजन शो ‘कमेडी दरबार’ टिम अस्ट्रेलिया टुरमा निस्कने भएको छ । निर्देशक तथा निर्माता शोभित बस्नेत र कमेडी दरबारका निर्देशक विक्की अग्रवालले कागजीबीच सम्झौता गरेका हुन् ।
टेलिभिजन शो कमेडी दरबारको टिमसँग अष्ट्रेलिया टुरका लागि कागजी सम्झौता गरेको निर्देशक बस्नेतले बताए । ‘अष्ट्रेलियामा रहेका नेपालीहरुलाई मनोरञ्जन गराउने उदेश्यले अष्ट्रेलिया टुर गर्न लागिएको हो । यो कार्यक्रमका लागि सम्पूर्ण तयारी पुरा गरिसकेका छौं,’ उनले भने ।
निर्देशक बस्नेतका अनुसार यो टुरमा ‘कमेडी दरबार’का अधिकांश कलाकार सहभागी रहनेछन् । आगामी फेब्रुअरी महिनाबाट सुरु हुने यो टुर करिब एक महिनासम्म सञ्चालन हुनेछ । अष्ट्रेलियाको सिड्नी, मेलबर्न, ब्रिसबेन, पर्थ, एडिलेड, डार्बिन, न्युक्यासललगायत करिब ८ वटा शहरमा यो कार्यक्रम आयोजना गरिने निर्देशक बस्नेतले बताए ।
यो कार्यक्रमको तयारीका लागि शोभित बस्नेत चाँडै नै अस्ट्रेलिया प्रस्थान गर्ने तयारीमा छन् । यो कार्यक्रमको प्रस्तुतकर्ता पाल्पा इन्टरटेनमेन्ट तथा आयोजकमा थ्रीकेजी इभेन्ट र पाल्पा इन्टरटेनमेन्ट रहेको छन् ।
यसैगरी, पाल्पा इन्टरटेनमेन्ट र शोभित बस्नेतले संयुक्त रूपमा प्रत्येक दुई महिनामा अस्ट्रेलियामा नियमित कार्यक्रम आयोजना गर्ने योजना पनि सार्वजनिक गरेका छन् । यसअघि शम्भुजित बास्कोटा, यम बराल, आनन्द कार्कीलगायतले अस्ट्रेलियाका विभिन्न शहरमा आफ्नो प्रस्तुती दिइसकेका छन् ।



प्रतिक्रिया