द सिनेमा टाइम्स, काठमाडौं । गायक तथा संगीतकार टंक बुढाथोकीको निर्देशनमा निर्माण हुने दोस्रो सिनेमा ‘बा-आमा’ निर्माण घोषणा गरिएको छ । उनको डेव्यु निर्देशन तथा निर्माण सिनेमा ‘मन बिनाको धन’ले बक्सअफिसमा करिब चार करोड ग्रसकलेक्सन गरेको थियो ।
पहिलो सिनेमा बक्सअफिसमा सफल भएपछि उनी दोस्रो सिनेमा ‘बा-आमा’मा पनि बालगायक अशोक दर्जी र छोरा एआर बुढाथोकी पुनः देखिने भएका हुन् । अन्य कलाकारको छनोट प्रक्रिया बाँकी रहेको निर्देशक बुढाथोकीले बताए । यो सिनेमाको शीर्षक विकास बोर्डमा दर्ता भइसकेको छ ।
टंक बुढाथोकीकै कथामा निर्माण हुने सिनेमाको पटकथा तथा संवाद शिवम् अधिकारीले लेखिरहेका छन् । निर्देशक बुढाथोकीका अनुसार स्क्रिप्ट लेखन अन्तिम चरणमा पुगेको छ । ‘स्क्रिप्ट लेखन लगभग अन्तिम चरणमा छ । त्यसपछि कलाकार छनोटको प्रक्रिया सुरु गर्नेछौं,’ उनले भने, ‘आगामी बैशाखदेखि छायांकन सुरु गर्ने योजना छ ।’
सिनेमाको कथा टंक बुढाथोकीकै लोकप्रिय गीत ‘बा-आमा’बाट प्रेरित हुनेछ । पहिलो सिनेमालाई दर्शकले राम्रो प्रतिक्रिया दिएको उल्लेख गर्दै त्यसमा देखिएका कमी–कमजोरी सुधारेर अझ राम्रो सिनेमा निर्माण गर्ने लक्ष्य रहेको बताए । करिब पाँच वर्षअघि सार्वजनिक भएको टंकको हिट गीत ‘बा-आमा’ कै शीर्षकमा सिनेमा निर्माण हुन लागेको हो ।
टंक बुढाथोकी प्रोडक्सनको प्रस्तुतिमा निर्माण हुन लागेको सिनेमा ‘बा-आमा’की निर्मातामा विष्णुमाया मैनाली रहनेछिन् । यसअघि पनि उनले आफ्नो सुपरहिट गीत ‘मन बिनाको धन’को शीर्षकबाट सिनेमा निर्माण गरेका थिए । ‘बा–आमा’ पारिवारिक तथा सामाजिक कथावस्तुमा आधारित सिनेमा हुने बताइएको छ ।


प्रतिक्रिया