द सिनेमा टाइम्स, काठमाडौं । गत पौष ४ गतेबाट देशव्यापी प्रदर्शनमा आएको सिनेमा ‘झरीपछिको इन्द्रेणी’ हाल तेस्रो सातामा प्रदर्शनरत छ । २ हप्तामा करिब १ करोड ग्रस कलेक्सन गरेको सिनेमा भोली शुक्रबारबाट चौंथो हप्तामा प्रवेश गर्दैछ ।
दर्शक तथा समीक्षकबाट उत्कृष्ट प्रतिक्रिया पाइरहेको सिनेमा अब नेपालसहित विदेशमा समेत प्रदर्शन भैरहेको छ । यसैवीच ‘झरीपछिको इन्द्रेणी’को दक्षिण कोरिया प्रदर्शन पक्का भएको छ । यो सिनेमालाई दक्षिण कोरियामा छन्जु (वान्जुगुन) नेपाली समाज तथा वान्जु फुटवलको प्रस्तुतीमा त्यहाँ रिलिज गर्न लागिएको हो ।
आगामी फेब्रुअरी ७ मा छल्लाबुक्दो खिम्जे सीमामा सिनेमालाई नेपाली श्रमिक तथा विद्यार्थी युनियन दक्षिण कोरियाले प्रदर्शन गर्न लागेको हो । यो सिनेमाको प्रदर्शनबाट उठेको रकम राहत कोषमा जम्मा गरिने बताइएको छ । आयोजक संस्थाले खिम्जे आसपास बस्ने सम्पूर्ण नेपालीलाई उपस्थितिका लागि अनुरोध गरेको छ । दक्षिण कोरियाका अन्य शहरमा ‘झरी पछिको इन्द्रेणी’ प्रदर्शन गर्न चाहनेले प्रदीप भट्टराईसँग सम्पर्क गर्न सकिने जनाइएको छ ।
अर्जुन घिमिरे ‘पाँडे’ निर्देशित यो सिनेमाबाट अभिनेता गणेश उप्रेतीले ९ वर्षपछि कमब्याक गरेका छन् । उनका कारण अघिल्लो पुस्ताका दर्शकलाई सिनेमाप्रति आकर्षित गर्न सक्ने अपेक्षा गरिएको छ । सिनेमामा गणेशसहित रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, प्रियना आचार्य (मुन्नी) लगायतको अभिनय छ । सिनेमाको एक गीतमा मोडल अञ्जली अधिकारी र कोरियोग्राफर प्रदीप लामा पनि विशेष भूमिकामा देखिनेछन् ।
निर्देशक घिमिरे स्वयंको कथा रहेको यो सिनेमाबाट विमोचन दवाडी र जेसिका पोखरेलले डेब्यु गरेका छन् । जेसिका अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाकी बहिनीकी छोरी हुन् । बाल कलाकारमा दिप्सन चिलवालको पनि अभिनय रहेको छ । सिनेमाको पटकथा तथा संवाद गणेश कार्की र विशाल घिमिरेले लेखेका हुन् । अनिशा सेन्दाङ लिम्बू निर्मात्री रहेको सिनेमाका छायाँकार बुद्ध थापा हुन् ।
नागराज इन्टरटेनमेन्ट प्रालीको व्यानरमा निर्माण भएको सिनेमाले देशको राजनीतिक अस्थिरता, त्यसले जनतामा पारेको प्रभाव, र नयाँ पुस्ताको आकांक्षा र आक्रोशलाई मुख्य कथावस्तु बनाइएको छ । एक इमानदार कर्मचारी र बाबुको संघर्षको कथा पनि सिनेमाले पेश गर्नेछ ।
सिनेमामा अनु थापा, पंकज खड्का, सिर्जना खड्का, सुवास शर्मा र राम कार्की सह-निर्माता तथा लाइन प्रोड्युसरमा योगेश खतिवडा र विनोद कँडेल छन् ।



प्रतिक्रिया