द सिनेमा टाइम्स, काठमाडौं । पौष २५ गते भोली शुक्रबारबाट देशब्यापी प्रदर्शनमा आउने वृत्तचित्र ‘दिमाग घोच्ने मान्छे’को प्रिमियर शो सम्पन्न भएको छ । बुधबार ललितपुरस्थित क्युएफएक्स लविम मलमा आयोजित प्रिमियर शोमा प्रधानमन्त्री सुशिला कार्की, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, गृहमन्त्री ओम प्रकाश अर्याल, सुचना तथा सञ्चारमन्त्री जगदिश खरेलले वृत्तचित्र हेरका थिए ।
वैकल्पिक राजनीतिकको मियोका रुपमा परिचित उज्वल थापाको वृत्तचित्र हेर्न रास्वपा नेतृ रञ्जु दर्शना, जेनजी अभियान्ता रक्षा बम, नेताद्धय मिलन पाण्डे र सुमोना श्रेष्ठ, अभिनेत्री ऋचा शर्मा, निर्देशक मिन बहादुर भाम लगायत पुगेका थिए । विवेकशिल साझा पार्टीका संस्थापक अध्यक्ष उज्वल थापाको जीवन संघर्ष र वैकल्पिक राजनीतिलाई अघि बढाउन खेलेको भूमिकाको कथावस्तुमा वृत्तचित्र निर्माण गरिएको छ ।
यो वृत्तचित्रलाई सुदीप भाजुले निर्देशन गरेका हुन् । यो वृत्तचित्रको हिजो बुधबारदेखि देशभरका हलहरूले अग्रीम टिकट बिक्री पनि खुलाएका छन् । नेपालमा वैकल्पिक राजनीतिको वकालत गर्ने थापाको २०७८ साल जेठ १८ गते ४४ वर्षको उमेरमा कोरोना संक्रमणका कारण निधन भएको थियो ।
यो वृत्तचित्रको प्रिमियरमा बोल्दै प्रधानमन्त्री कार्कीले नेपालमा वैकल्पिक राजनीतिलाई अघि बढाउन खेलेको भूमिका र व्यक्तित्वको स्मरण गर्दै वर्तमान राजनीतिक अन्योलतामा थापाको खालीपन महसुस भएको बताइन् । प्रधानमन्त्रीले भनिन्, ‘अहिले पनि हामीलाई उहाँको खालीपन महसुस छ, त्यस्तो मान्छे भैदिए हुन्थ्यो । पल्टिकल टर्माइल छ, यस्तो बेला उहाँ हुनुपथ्र्यो भन्ने लाग्छ । घोच्ने मान्छे त होइन, चेत दिलाउने समाजलाई, कन्सस गराउने, जगाउने मान्छेको रुपमा उहाँ हुनुहुन्थ्यो ।’
उज्वल र प्रदीप गिरीजस्ता मान्छे वर्तमान राजनीतिलाई जरुरी रहेको धारणा प्रधानमन्त्रीको थियो । उज्वल गम्भीर बिरामी भएर अस्पतालमा भर्ना हुँदा आफूले उनलाई चाँडै निको होन् भनेर हृदयबाटै भगवान गुहारेको स्मरण पनि कार्कीले गरिन् । ‘मैले धेरैचोटी भगवानसँग प्रार्थना गरेँ । उहाँलाई बचाइदिनु भनेर भगवान गुहारेँ हृदयबाटै । तर, केही सीप चलेन । उहाँको डेथ भयो भनेर सुन्दा साह्रै दुःख लाग्यो,’ उनले भनिन् ।


प्रतिक्रिया