प्रमोद अग्रहरिको डेब्यू बंगलादेशी सिनेमा ‘हाङ्गोर’को धमाकेदार टिजर सार्वजनिक

प्रमोद अग्रहरिको डेब्यू बंगलादेशी सिनेमा ‘हाङ्गोर’को धमाकेदार टिजर सार्वजनिक

द सिनेमा टाइम्स
1.7k
Shares

द सिनेमा टाइम्स, काठमाडौं । छिरिङ रितार शेर्पाको निर्देशनमा निर्माण भएको सिनेमा ‘उमा’बाट नेपाली रजतपटमा अभिनेता प्रमोद अग्रहरिले डेव्यु गरेका थिए । उनै प्रमोदले डेब्यू गरेको बंगलादेशी एक्सन सिनेमा ‘हाङ्गोर’को धमाकेदार टिजर सार्वजनिक गरिएको हो । निर्माताले विहिबार सामाजिक सञ्जालमार्फत टिजर सार्वजनिक गरेका हुन् ।

अभिनेता अग्रहरिलाई १ मिनेटको टिजरमा प्रस्तुत गरिएको छ । शीर्ष भूमिकामध्येमा देखिएका उनलाई समुन्द्रमा गुण्डाहरूसँग भिडिरहेको देख्न सकिन्छ । उनको अनुहार पछाडिबाट खिचिएका दृश्यमा अग्रहरिलाई एक्सन अवतारमा प्रस्तुत गरिएको छ ।

सार्वजनिक टिजर हेर्दा प्रमोदको बंगलादेशी सिनेमाको डेब्यू धमाकेदार हुने देखिन्छ । फ्यानले यो सिनेमालाई नेपालमा समेत रिलिज गर्न माग गरिरहेका छन् । बंगाली भाषामा ‘हाङ्गोर’ भनिएपनि सिनेमाको अंग्रेजी नाम चाहिँ ‘शार्क’ हो । टिजरमा शार्क माछालाई विम्वपरकरुपमा देखाइएको छ ।

बिगसर्ट क्रियसन प्रस्तुत बदलाको कथामा आधारित यो सिनेमामा उनी ‘शार्क’ कै भूमिकामा छन् । तनमोय सुर्जो निर्देशित सिनेमामा अग्रहरिसहित तमिना अथोई, अर्नब खान लगायतको अभिनय छ । बंगाली भाषामा निर्माण भएको सिनेमालाई हिन्दी र अंग्रेजी भाषासहित विदेशमा समेत रिलिज गर्ने तयारी छ ।

अग्रहरिले नेपालमा पनि रिलिज गर्न पहल गर्ने बताए । ‘नेपाली कलाकारले बंगलादेशजस्तो उदीयमान सिनेमा उद्योगमा पाइला अघि बढाउनु हाम्रो लागि खुसीको कुरा हो,’ अभिनेता अग्रहरिले भने । अन्य बंगलादेशी सिनेमाबाट समेत प्रस्ताव आएको उनले बताए ।

नेपाली सिनेमामा अग्रहरिले दुई दर्जन नेपाली सिनेमामा अभिनय गरेका छन् । बहुमुखी चरित्रमा आफूलाई जीवन्त तुल्याउन सक्नु अभिनेताको रुपमा उनको खुबी हो । उनको मुख्य भूमिका रहेको सिनेमा स्त्री आगामी फागुन २९ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ ।