गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

द सिनेमा टाइम्स
21
Shares

द सिनेमा टाइम्स, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ । भारतको दिल्लीस्थित आफ्नै निवासमा उनको निधन भएको पारिवारिक श्रोतले जानकारी दिएको हो । आज बिहान दिल्लीको आफ्नै अपार्टमेन्टमा निधन भएको हो । उनको हृदयघातका कारण निधन भएको जानकारी प्राप्त छ ।

इन्डियन आइडल जितेका प्रशान्त तामाङ नेपालमा चर्चित थिए । उनले गाएका थुप्रै नेपाली गीत चर्चित छन् । ४३ वर्षिय तामाङले नेपाली सिनेमामा अभिनय र गायन पनि गरेका छन् । नारायण रायमाझी निर्देशित सिनेमा ‘गोर्खापल्टन’बाट उनले नेपाली सिनेमा अभिनयमा डेब्यू गरेका थिए । दीपक श्रेष्ठ निर्देशित ‘हिम्मत २’बाट पहिलोपटक नेपाली सिनेमाको पाश्र्वगायनमा सुरुवात गरेका हुन् ।

त्यसयता उनले ‘अँगालो मायाको’, ‘किन मायामा’, ‘धड्कन भित्र’, ‘निशानी’, ‘परदेशी १ र २’ अनि गत मंसिरमा रिलिज भएको ‘लडाइँ पहिचानको’मा अभिनय तथा ‘दिल’, ‘अनमोल छन्’ र ‘हिम्मत २’मा पाश्र्वगायन गरेका छन् । उनले सलमान खान स्टारर सिनेमा ‘ब्याटल अफ गलवान’बाट बलिउड डेब्यू गरेका थिए । यो सिनेमाको छायांकन सकेर उनी डबिङको तयारीमा थिए ।

भारतको दार्जिलिङमा जन्मिएका प्रशान्तले सन् २०११ मा एयर होस्टेस मार्था एलीसँग विवाह गरेका थिए । उनीहरूको एक छोरी छन् । उनले केही समय कोलकाता प्रहरीको कन्सटेबलको जागिर समेत गरेका थिए । सन् २००७ मा प्रशान्तको डेब्यू एल्बम ‘धन्यवाद’ रिलिज भएको थियो । ‘वीर गोर्खाली’ र ‘असारे महिनामा’ उनका चर्चित गीतहरू हुन् ।

प्रशान्तले नेपालको चर्चित टिभी श्रृंखला ‘तीतो सत्य’मा समेत अभिनय गरेका थिए । प्रशान्तको निधनको खबरलगत्तै उनलाई सामाजिक संजालमा नेपाली फ्यान तथा सिनेमाकर्मी र संगीतकर्मीले श्रद्धान्जली अपर्ण गरिरहेका छन् ।