द सिनेमा टाइम्स, काठमाडौं । मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’को निर्देशन तथा मुख्य भूमिका रहेको सिनेमा ‘गोबर गणेश’ यतिबेला चर्चामा छ । गत हप्ता सार्वजनिक ट्रेलरले युट्युबमा राम्रो चर्चा पाइरहेका बेला निर्माण टिमले सिनेमाको प्रचारलाई तिव्रता दिएको थियो ।
विशेष गरी निर्देशक बल्छी धुर्वे यतिबेला नेपाली सिनेमा क्षेत्रका दिग्गज हस्तीहरूलाई भेटेर सिनेमाको बारेमा जानकारी गराउन र आशीर्वाद लिन व्यस्त छन् । यो क्रममा उनले महानायक राजेश हमाल, वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, निर शाह, चर्चित अभिनेता दीपकराज गिरी र निर्देशक दीपाश्री निरौला लगायतका कलाकारसँग भेटघाट गरेका छन् ।
उहाँहरुको भेटका क्रममा कलाकारहरूले बल्छी धुर्वेको मेहनत र इमानदारिताको मुक्तकण्ठले प्रशंसा गरेका थिए । सानो पर्दा (टेलिभिजन) को एउटा कलाकारका रूपमा सुरु भएको उनको यात्रा आज ठूलो पर्दाको नायक र निर्देशकको तहसम्म पुग्नु सबैका लागि प्रेरणादायी रहेको उनीहरूको भनाई छ ।
वरिष्ठ कलाकारहरूले बल्छीको यो साहस र लगनशीलताले नयाँ पुस्ताका कलाकारहरूलाई पनि मार्गनिर्देश गर्ने भन्दै ‘गोबर गणेश’को सफलताका लागि शुभकामना दिएका छन् । दिग्गज कलाकारहरूबाट पाएको यो साथ र हौसलाले सिनेमाको टिम थप उत्साहित बनेको छ ।
एक साता अघि सार्वजनिक भएको ‘गोबर गणेश’को ट्रेलर करिब ३० लाख (३ मिलियन) पटक हेरिएको छ । ट्रेलर यतिबेला युट्युबको नम्बर १ ट्रेन्डिङमा छ । सामाजिक कथावस्तुमा आधारित हास्य र भावनाको समिश्रण रहेको यो सिनेमालाई लिएर दर्शकमा पनि निकै कौतूहलता देखिएको छ ।
बल्छी धुर्वे फिल्मस्को प्रस्तुतिमा निर्माण भएको सिनेमा आगामी माघ १ गते माघे संक्रान्तिको अवसर पारेर देशभरका सिनेमा हलमा रिलिज हुँदैछ । सिनेमामा बल्छीसहित वर्षा शिवाकोटी, विनोद न्यौपाने, पदम तामाङ, निर्मल शर्मा, लक्ष्मीनाथ तिमल्सेना, सन्तोष बानियाँ, सन्दीप लामा, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना, पुजन घिमिरे (पुकु), बुद्धि तामाङ, विशाल पहाडी, रमेश बुढाथोकी, स्वस्तिका लामिछाने लगायतको अभिनय छ ।
तारानाथ न्यौपाने चिफ एडी रहेको सिनेमामा योगेश काजी शाहको बीजीएम, शंकर पाण्डेको प्रोडक्सन, शिवराम श्रेष्ठको डीओपी र विपीन मल्लको सम्पादन छ । टौवा स्टुडियोको पब्लिसिटी डिजाइन रहेको सिनेमाको डिजिटल पार्टनरमा ओएसआर तथा वितरण श्री ब्यांकटेस इन्टरटेनमेन्ट हो ।





प्रतिक्रिया