ओटीटी प्लेटफर्म ‘युएनए डिजिटल’ घोषणा

ओटीटी प्लेटफर्म ‘युएनए डिजिटल’ घोषणा

द सिनेमा टाइम्स
28
Shares

द सिनेमा टाइम्स, काठमाडौं । नेपालमा नयाँ नेपाली ओटीटी प्लेटफर्म ‘युएनए डिजिटल’ घोषणा भएको छ । शनिबार साँझ काठमाडौंमा एक कार्यक्रमकाबीच संचार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले यो ओटीटीको घोषणा गरेका हुन् ।

यसको घोषणा भएसँगै हलमा सिनेमा तथा सिरिज हेर्न नपाएका दर्शकका लागि ओटिटिमार्फत हेर्न पाउने सुविधाको सुरुवातले विश्व बजारमा आफ्नो पहुँच पुर्याउने विश्वास गरिएको छ ।

यो कम्पनीका सीइओ, सिनेमा वितरक तथा निर्माता उज्वल गुरागाइँ हुन् । उनका अनुसार दर्शकले फेब्रुअरी १ तारिख अर्थात् १८ माघदेखि यो ओटीटीमा सिनेमा, शो र ओरजिनल सिरिज हेर्न पाउनेछन् । आगामी १ फेब्रुअरीदेखि प्रयोगकर्ताले एप्पलको आईओएस र गुगल प्ले स्टोरमा उपलब्ध एपसहित ब्राउजर र टिभी संस्करण प्रयोग गर्न पाउने सीइओ गुरागाइँले बताए ।

उनले भने, ‘यो ओटिटि सुरुवात गरेका छौँ । यसले नेपाली सिनेमा तथा निर्माताहरुलाई जोगाउछ । यसले डुबाउदैन । त्यसका लागि नै नयाँ युगको सुरुवात गरिएको हो ।’ यो ओटिटिमार्फत दर्शकले आशिष ढकालको सिरिज ‘सम्बन्ध तिम्रो मेरो’, ‘क्राइम इन स्टोरी’ त्यसै गरि अभिनेता सलोन बस्नेतको सिनेमा ‘रुम नम्बर १०८’ प्रदर्शनमा आउन लागेको जानकारी दिइएको छ ।

निर्माण पक्षले सलोन बस्नेतले निर्माण गर्न लागेको यो सिनेमालाई ओटिटि प्लेटफर्ममार्फत पहिलो सिनेमाका रुपमा रिलिज गर्न लागेको हो । त्यसैगरी यसैका सीइयो गुरागाइले नै निर्माण गर्न लागेको ‘रियल रिदम’ ओटिटिमा राखिने छ । यो कम्पनीले निर्माण गरेको अर्को सिरिज ‘चोइज’, ‘सिनेपट न्युज’ आयुसा महर्जनको होस्टमा ‘चेलीबेटी’ साथै ‘काठमाडौं नाइट’ पनि यसबाट प्रसारण हुनेछ ।

यसका लागि नेपाल र विदेशका लागि अलग-अलग ‘ओटीटी विन्डो’ सहित कन्टेन्ट क्रमशः ल्याउने तयारी निर्माण पक्षको छ । सीइयो गुरागाइका अनुसार सुरुवात १४ फेब्रुअरीदेखि हुनेछ । शुल्कबारेको जानकारी चाँडै दिइने भएको छ । बोर्डका अध्यक्ष दिनेश डिसीले ओटिटि खुलेकोमा बधाई दिँदै राम्रो कामको सुरुवात भएको बताए ।

‘हामी क्रियटिभ मानिसहरु एउटा चरा जस्तै हौँ,’ उनले चराको उदाहरण दिदै भने, ‘आकाशमा एउटा चरासँग अर्को चरासँग ठोकिँदा पनि आ–आफ्नै उडानहरु हुन्छन् । युएनको उडान यहाँबाट सुरु भएको छ र यो उडानलाई शुभकामना छ ।’
यो कार्यक्रममा शुभकामना दिन पुगेको अभिनेता तथा निर्माता दीपकराज गिरीले सिनेमाकर्मीका लागि यस्ता ओटिटि अति आवश्यक भएको र ओटिटिको सुरुवात गरेकोमा बधाई दिए । आयोजित समारोहमा संचारमन्त्री खरेलले ओटिटिको शुभारम्भले बदलिँदो प्राविधिक आयाम र दर्शकको रुचिलाई युएनए डिजिटल ओटीटीले पूरा गर्न सक्नुपर्ने बताए । उनले समयसँगै परिवर्तन हुँदै जानु राम्रो हुने तर्क गरेका थिए ।

यो ओटिटिले सुरुवातमा कन्टेन्टमाथि ६ करोड रुपैयाँ लगानीसहित संचालनमा आउन लागेको हो । यस ओटिटीमा नेपाली भाषाबाहेकका अर्थात भारतीय, बंगलादेशी र जापानी सामग्रीलाई पनि क्रमशः रिलिज गर्ने ओटीटीका सीइयो गुरागाईको दाबी छ ।