द सिनेमा टाइम्स, काठमाडौं । नेपाल ग्रामीण सिनेमा महोत्सवको पाँचौँ संस्करण आगामी वर्षको बैशाख १० देखि १२ गतेसम्म आयोजना हुने भएको छ । सोमबार एक विज्ञप्ती मार्फत् सेलिब्रेटी नेपालको आयोजनामा हुने महोत्सवका लागि नेपाली मौलिक ग्रामीण कथावस्तुमा आधारित सिनेमा दर्ता आह्वान गरिएको हो ।
महोत्सवमा गाउँले परिवेश झल्किने स्वदेशी छोटा सिनेमा, डकुमेन्ट्री, फिचर सिनेमा तथा विभिन्न भाषाभाषीका सिनेमाहरू सहभागी हुन सक्ने आयोजकले जनाएको छ । प्राप्त सिनेमाहरूमध्ये निर्णायक मण्डलबाट छनोट भएका सिनेमाहरू महोत्सवमा प्रदर्शन गरिनेछ । ती मध्ये उत्कृष्ट सिनेमालाई विभिन्न विधामा अवार्ड प्रदान गरिनेछ ।
नेपाली मौलिक सिनेमाप्रति दर्शकको आकर्षण बढाउनु, नियमित रूपमा सिनेमा हेर्ने संस्कार विकास गर्नु, ग्रामीण कथामा आधारित सिनेमालाई अन्तर्राष्ट्रिय स्तरसम्म पु¥याउनु तथा स्थानीय भाषा, कला, संस्कृति र पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्नु महोत्सवको मुख्य उद्देश्य हो ।
‘आफ्नै गाउँ, आफ्नै ठाउँ, आफ्नै भाषा, आफ्नै सिनेमा’ भन्ने मूल नाराका साथ आयोजना हुने महोत्सवमा सिनेमा प्रदर्शनीसँगै अन्तरक्रिया, कार्यशाला गोष्ठी आयोजना गरिने अध्यक्ष रघुनाथ सापकोटाले बताए । महोत्सवका अध्यक्ष सापकोटाका अनुसार महोत्सवमा नेपाली मौलिक ग्रामीण कथावस्तुमा बनेका समावेश गर्दै आएका छौँ । यसले सिनेमा भवन नभएका गाउँका दर्शकलाई पनि सिनेमासँग जोड्छ भन्ने हाम्रो विश्वास छ ।
यसअघि महोत्सव गोरखाको लाप्राक, काभ्रेपलाञ्चोकको भकुण्डेबेसी, रामेछाप र रसुवामा सम्पन्न भइसकेको छ । यसपटकको महोत्सव आयोजना हुने स्थान भने तय हुन बाँकी रहेको महोत्सव संयोजक कमल एक्चै मगरले जानकारी दिए । चलचित्र विकास बोर्डको सहकार्यमा महोत्सव आयोजना हुँदैछ ।


प्रतिक्रिया