हिन्दी सिनेमा ‘रिमझिम गिरे सावन’को मुख्य भूमिकामा वर्षा राउत अनुबन्धित

हिन्दी सिनेमा ‘रिमझिम गिरे सावन’को मुख्य भूमिकामा वर्षा राउत अनुबन्धित

द सिनेमा टाइम्स
70
Shares

द सिनेमा टाइम्स, काठमाडौं । नेपाली सिनेमाकी लोकप्रिय अभिनेत्री वर्षा राउतले हिन्दी सिनेमामा डेब्यु गर्ने भएकी छिन् । केही दिन अघि उनले काठमाडौंमा हिन्दी फिचर सिनेमा ‘रिमझिम गिरे सावन’मा मुख्य भूमिकामा अनुबन्धित भएकी हुन् ।

व्यावसायिक सफल सिनेमा ‘नाइँ नभन्नु ल ४’बाट अभिनय यात्रा सुरु गरेकी वर्षाले नेपाली रजतपटमा बलियो पकड जमाएकी छन् । यो विदेशी भाषाको सिनेमामा पहिलो मुख्य भूमिका हो । उत्तरी सिक्किमको लाचुङको रमणीय दुर्गम पहाडी भूभागमा आधारित सामाजिक ड्रामा कथावस्तु र पृष्ठभूमिमा सिनेमा निर्माण हुनेछ ।

नेपाली समुदायको परिवेश समेटिएको सिनेमाले मृत्युदण्डको सजाय पाएकी एक विवाहित महिला तथा एक सन्तानकी आमा रिमझिम क्षेत्रीको संघर्षपूर्ण कथालाई चित्रण गर्छ । जसमा रिमझिमको भूमिकामा राउतले अभिनय गर्नेछिन् । ‘रिमझिम गिरे सावन’ले प्रणालीगत भ्रष्टाचार, न्याय र मर्यादाका लागि एक महिलाले गर्ने भावनात्मक र साहसी संघर्षलाई पर्दामा उतार्ने निर्देशक अर्नब पलले बताए ।

यो सिनेमालाई बंगाली सिनेमा उद्योगका बहु आयामिक निर्देशक अर्नब पलले निर्देशन गर्दैछन् । यसअघि निर्देशक पलले ‘वृष्टि तोमाके दिलाम’बाट नेपाल अन्तर्राष्ट्रिय सिनेमा महोत्सवमा उत्कृष्ट निर्देशकको अवार्ड हात पारेका थिए । सान्टियागो इन्टरनेशनल ग्लोबल सिनेमा अवाड्र्स लगायतका प्रतिष्ठित महोत्सवमा उत्कृष्ट निर्देशकको अवार्ड जितेर अन्तर्राष्ट्रिय प्रशंसा कमाइसकेका छन् ।

यो सिनेमामा बलिउडका स्थापित कलाकार सुब्रत दत्त, राजेश शर्मा, आशिष विद्यार्थी र यशपाल शर्माको मुख्य भूमिका रहने पक्का भइसकेको छ । रिमझिमकी दिदि ‘रुन्झुन’को भूमिकामा कोलकाताकी कलाकार सुस्मिता बसुमता देखिनेछिन् । ‘सावन’को भूमिकाका लागि चर्चित बलिउड अभिनेताको खोजी भइरहेको निर्माण पक्षले जनाएको छ ।

अभिनय यात्राको नयाँ खुड्किलो आफ्नो नयाँ यात्राप्रति उत्साह व्यक्त गर्दै वर्षाले भनिन्, ‘मैले खोजिरहेको र मेरो अभिनय क्षमतालाई चुनौती दिने खालको भूमिका पाएकी छु । हिउँले भरिएको कठिन भूगोलमा छायांकन गर्नु चुनौतीपूर्ण भएपनि यो मेरा लागि सिक्ने र बढ्ने अवसर हो । भारतमा ख्याति कमाएको टिमको सिनेमा र बलिउड कलाकारसँग काम गर्न पाउनु गर्वको कुरा हो ।’

निर्देशक अर्नब पलका अनुसार वर्षाको छनोट उत्कृष्ट अभिनय क्षमताका कारण गरिएको हो । नेपाली कलाकार नै छनोट गर्नुपर्ने अवस्था हिन्दी बोल्ने तर नेपाली लवजमा हुनुपर्ने कारण रहेको बताए । वर्षालाई मनीषा कोइरालापछिको हिन्दी सिनेमामा सशक्त नेतृत्वदायी भूमिका निभाउने नेपाली अभिनेत्रीका रूपमा चित्रण गरेका छन् ।

सिनेमाको पटकथा भेट्रान लेखक राकेश कुमार त्रिपाठीले तयार पारेका हुन् । प्राविधिक विभागमा भारतीय राष्ट्रिय पुरस्कार विजेता डिओपी असिम बोस, सम्पादक अघ्र्य कमल मित्र र कला निर्देशक अतनु साहा छन् । नाङ एनी गोगोई लाइन प्रोड्युसर र कस्ट्युम डिजाइनर तथा नेपालका तर्फबाट रामगोपाल तिमल्सिना र नृपेश रुपाखेती प्रोडक्सन म्यानेजर छन् ।