बल्छी धुर्वे निर्देशित ‘गोबर गणेश’लाई सेन्सर बोर्डको युनिभर्सल सर्टिफिकेट

बल्छी धुर्वे निर्देशित ‘गोबर गणेश’लाई सेन्सर बोर्डको युनिभर्सल सर्टिफिकेट

द सिनेमा टाइम्स
63
Shares

द सिनेमा टाइम्स, काठमाडौं । माघे संक्रान्तिको अवसरमा रिलिज हुने सिनेमा ‘गोबर गणेश’ सेन्सर पास भएको छ । आगामी माघ १ गतेबाट देशभरका सिनेमा हलमा प्रदर्शनको तयारीमा रहेको सिनेमालाई केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले युनिभर्सल सर्टिफिकेट प्रदान गरेको हो ।

हाँस्यकलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’को निर्देशन तथा मुख्य अभिनय रहेको सिनेमा ‘गोबर गणेश’ले सोमबार बोर्डबाट ‘यू’ सर्टिफिकेट पाएको हो । अब यो सिनेमालाई स-साना बालबालिकादेखि वृद्धवृद्धासम्म सबै उमेर समूहका दर्शकले परिवारसँगै बसेर हेर्न पाउनेछन् ।

सिनेमा विशेषत पढ्न नसकेपछि काठमाडौं आएर एक युवकले गरेको संघर्षको कथामा आधारित छ । पढाईमा कमजोर रहेको एक गाउँले युवकले काठमाडौं आएर जीवन बदल्न गरेको संघर्ष सार्वजनिक भएका सामाग्रीबाट बुझ्न सकिन्छ ।

सिनेमाको पोस्टर, ट्रेलर र गीतले राम्रो हाइप पाइरहँदा सेन्सर बोर्डबाट प्राप्त प्रतिक्रिया प्रति निर्माण समूह खुसी छ । निर्देशक मरिचमान श्रेष्ठले सेन्सर बोर्डका सदस्यहरूले सिनेमा राम्रो बनेको प्रतिक्रिया दिएको बताए ।

बल्छी धुर्वे फिल्मस्को प्रस्तुतिमा निर्माण भएको सिनेमामा बल्छीसहित वर्षा सिवाकोटी, विनोद न्यौपाने, पदम तामाङ, निर्मल शर्मा, लक्ष्मीनाथ तिमलसेना, सन्तोष बानियाँ, सन्दीप लामा, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना, पुजन घिमिरे (पुकु), बुद्धि तामाङ, विशाल पहाडी, रमेश बुढाथोकी, स्वस्तिका लामिछाने लगायतको अभिनय छ ।

तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक रहेको सिनेमामा योगेश काजी शाहको बीजीएम, शंकर पाण्डेको प्रोडक्सन, शिवराम श्रेष्ठको डीओपी र विपीन मल्लको सम्पादन छ । टौवा स्टुडियोको पब्लिसिटी डिजाइन, डिजिटल पार्टनरमा ओएसआर रहेको सिनेमालाई नेपालमा ब्यांकटेस इन्टरटेनमेन्टले वितरण गर्दैछ ।