द सिनेमा टाइम्स, काठमाडौं । सेभेन सिज सिनेमाको प्रस्तुतिमा निर्माण भइरहेको सिनेमा ‘रोल नं १’को पहिलो चरणको छायांकन सकिएको छ । म्याग्दीका विभिन्न रमणीय तथा ग्रामीण भेगमा करिब ४२ दिन लगाएर सिनेमा खिचिएको हो ।
करिब दुई साताको वर्कसपपछि गत मंसिर १५ गतेदेखि म्याग्दीबाट सुरु भएको सिनेमाको छायांकन तालिका ४५ दिनको तय गरिएको थियो । तर, प्रतिकूल मौसम र प्राविधिक चुनौतीका बाबजुद निर्धारित समयकै आसपासमा पहिलो चरणको काम सकिएको निर्माता विनोद पौडेलले बताए ।
निर्माता पौडेलका अनुसार म्याग्दीको अत्यधिक चिसोले छायांकन टोलीलाई निकै सास्ती दियो । ‘हामी ४५ दिनको तालिका लिएर निस्केका थियौं, ४२ दिनमा म्याग्दीको सेड्युल सक्यौं । कलाकारलाई भन्दा पनि प्राविधिक टोलीलाई चिसोले बढी गाह्रो बनायो । विशेषगरी रात्रिकालीन दृश्यहरू खिच्दा १० बजेपछि तापक्रम निकै घट्ने भएकाले काम गर्न कठिन हुन्थ्यो,’ निर्माता पौडेलले भने ।
दर्शकलाई एउटा सुन्दर सिनेमा दिन हामीले कुनै सम्झौता गरेका छैनौं । केही दिन आराम गरेर बाँकी काठमाडौंका दृश्य खिचिने निर्माता पौडेलले बताए । जोन योञ्जनको निर्देशन तथा कथामा तयार भइरहेको सिनेमा पूर्णतय बाल मनोविज्ञानमा आधारित छ । सिनेमाको कथा विद्यार्थीहरूमा देखिने सामाजिक दबाब, झूटो प्रतिष्ठा र जित्नैपर्ने मानसिकताको प्रभाव वरिपरि केन्द्रित रहेको संकेत गरिएको छ ।
सिनेमाको मुख्य भूमिकामा मुकुन भुषाल, सशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी र निर्भिक रेग्मी रहेका छन् । बाल शिक्षा र मनोविज्ञानको गम्भीर विषयलाई व्यावसायिक सिनेमाको ढाँचामा प्रस्तुत गर्न लागिएको ‘रोल नं १’लाई अर्थपूर्ण सिनेमाका रूपमा हेरिएको छ ।
सिनेमाको प्रदर्शन मिति घोषणा गरिएको छैन । छायाकंन सकेर पोस्टको काम सबै सकिएपछि मात्रै रिलिज मिति घोषणा गर्ने पक्षमा निर्माण टिम रहेको छ ।


प्रतिक्रिया