यम शेर्पा निर्देशित ‘मिरमिरे’मा वितरक रोहितले किन गरे लगानी ?

यम शेर्पा निर्देशित ‘मिरमिरे’मा वितरक रोहितले किन गरे लगानी ?

द सिनेमा टाइम्स
35
Shares

द सिनेमा टाइम्स, काठमाडौं । सिनेमा वितरक रोहित कट्टेल पछिल्लो समय नेपाली तथा विदेशी सिनेमाको वितरणमा सक्रिय छन् । आरआर फिल्मस्का सञ्चालक रोहितको लगानीमा ‘कृष्ण लीला’ र ‘बिहे पास’पछि तेस्रो सिनेमा ‘मिरमिरे’ भोली माघ १ गते माघे संक्रन्तिको अवसरमा रिलिज हुँदैछ ।

सिनेमा वितरण गर्दै आएका उनी किन निर्माता बने ? सिनेमाको कथा मन परेपछि आफू ‘मिरमिरे’ निर्माणका लागि तयार भएको उनको भनाई छ । ‘निर्माणका हिसाबले ‘मिरमिरे’ मेरो तेस्रो सिनेमा हो । जब मलाई निर्देशक यम शेर्पाले सिनेमाको कथा सुनाएपछि मलाई कथा मन पर्यो,’ रोहित भन्छन्, ‘एउटा राम्रो कथामा सिनेमा निर्माणका लागि अफर आउँदा किन सहकार्य नगर्ने भन्ने भएर लगानी गरेको हुँ ।’

बाबु र छोरीबीचको कथाले आफूलाई टच गरेको रोहित बताउँछन् । ‘यो हामी सबै नेपालीको कथा हो । घरघरको कथा हो,’ उनी भन्छन्, ‘हामी धेरै नेपालीले भोगेको र देखेको कथा हो । त्यसैले मलाई सुन्नबित्तिकै यो कथा मन परेको हो ।’ राम्रो कथामा सिनेमा निर्माणका लागि आफू सधैँ तयार रहेको उनी बताउँछन् । कहिले वितरण त कहिले निर्माणमार्फत राम्रो सिनेमा दर्शकमाझ ल्याउनु आफ्नो दायित्व पनि भएको रोहितको भनाइ छ ।

यार्सा फिल्मसको प्रस्तुति रहेको चलचित्रमा दयाहाङ राई, प्रकाश सपूत, सिर्जना निङलेखु, माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, विमल यादव, शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेल छन् । सिनेमामा यम शेर्पाको लेखन तथा निर्देशन छ ।

निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङछिरिङ शेर्पा निर्माता रहेको सिनेमाका सह–निर्मातामा गोविन्द बोहरा, सुदिप कुँवर तथा कार्यकारी निर्मातामा वितरक रोहित कट्टेल अनि लाइन प्रोड्युसरमा वीरेन्द्र शाही छन् । आलोक शुक्लाको डिओपी रहेको सिनेमामा सुदीप कुँवर मुख्य सहायक निर्देशक, सञ्जु थलाङ लिम्बु मेकअप र दिलीप पन्त निर्माण नियन्त्रक रहेका छन् ।