द सिनेमा टाइम्स, काठमाडौं । माघ १ गते भोली बिहीबारबाट माघे संक्रान्तिको अवसर पारेर प्रदर्शनमा आउने सिनेमा ‘भाईरल गोर्खे’को अग्रीम टिकट बुकिङ खुल्ला गरिएको छ । यो सिनेमालाई देशभरका मल्टीप्लेक्सदेखि सिंगल स्क्रिनसम्म उत्साहजनक शो उपलब्ध गराएका हुन् ।
निगम श्रेष्ठ निर्देशित सिनेमा ‘भाईरल गोर्खे’लाई देशको ठुलो मल्टीप्लेक्स चेन क्युएफएक्सले काठमाडौं उपत्यकामा १५ शो र मोफसलमा २० शोसहित ३५ शो दिएको छ । यस्तै, देशको दोस्रो ठुलो मल्टीप्लेक्स चेन आईएनआईले १६ शो, बिग मुभिजले ३ शो, एफक्युबले २ शो, वान सिनेमाजले ७ शो, रञ्जना सिनेप्लेक्सले ४ शो, सिके सिनेमाजले २ शो, बिएसआर मुभिजले ३ शो, सिने डी सेफले ३ शोसहित देशभरका हलमा करिब १ सय बढि शो पाएको छ ।
मंगलबार आयोजित सिनेमाको प्रिमियर शोमा मिलेको उत्कृष्ट प्रतिक्रियाको प्रभाव भोलीबाट हलमा देखिने विश्वास निर्माण टिमको छ । यदि दर्शकबाट पनि उत्कृष्ट वर्डअफ माउथ पाएर हलमा चाप बढेसँगै विस्तारै शोपनि थपिँदै जाने विश्वास वितर सुनिल मानन्धर बताउँछन् । उनका अनुसार देशव्यापी भाईरल गोर्खेलाई मिलेको शो संख्या उत्साहजनक हो ।
यसअघि ‘छड्के’, ‘लालपूर्जा’ र ‘छड्के २’ जस्ता सिनेमा निर्देशन गरिसकेका निगम श्रेष्ठले ‘भाइरल गोर्खे’ निर्देशन गरेका हुन् । यो सिनेमाले आफ्नो निर्देशकिय क्षमतालाई पूर्ण प्रस्तुत गर्नुका साथै दर्शकलाई एउटा सुन्दर सिनेमा देखाउने चाहाना पुरा गर्ने विश्वास व्यक्त गर्छन् । समसामयिक र घरघरको विषय भएकाले सिनेमालाई दर्शकले मन पराउनेमा ढुक्क रहेको निर्देशक श्रेष्ठले बताउँछन् ।
एके ब्रदर कम्पनी, द जिएमआई एकेडेमी र निर्भाना फिल्म स्कुलको व्यानरमा निर्माण भएको सिनेमामा सौगात र सृष्टिसँगै बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल, ऋषि धमला रवि भुजेल र मिस पवीको अभिनय रहेको छ ।
अमित श्रेष्ठ, विशाल ताम्राकार, महेश लामिछाने र केवल जंग कुँवर निर्माता रहेको सिनेमाका सह-निर्माता निर्भाना फिल्म स्कुल, भुवन अधिकारी र निखिल पौडेल हुन् ।
अमर महर्जनको सिनेमाटोग्राफी रहेको सिनेमालाई लम्जुङको भुजुङ गाउँ, गोरखा र चितवनमा खिचिएको हो । ‘भाइरल गोर्खे’को वितरक सुनिल मानन्धर, द्वन्द निर्देशक श्री श्रेष्ठ, एडिटर बन्दे प्रसाद, रवि चौधरी, भीम विश्वकर्मा हुन ।


प्रतिक्रिया