माघे संक्रान्तिको अवसरमा तीन सिनेमा ‘भाईरल गोर्खे’, ‘मिरमिरे’ र ‘गोबर गणेश’ प्रदर्शनमा

माघे संक्रान्तिको अवसरमा तीन सिनेमा ‘भाईरल गोर्खे’, ‘मिरमिरे’ र ‘गोबर गणेश’ प्रदर्शनमा

द सिनेमा टाइम्स
14
Shares

द सिनेमा टाइम्स, काठमाडौं । माघे संक्रान्तिको अवसर पारेर आज माघ १ गते बिहीबारबाट तीन सिनेमा ‘भाईरल गोर्खे’, ‘मिरमिरे’ र ‘गोबर गणेश’ एकसाथ प्रदर्शनमा आएका छन् । यी तीनवटै सिनेमा सामाजिक कथामा आधारित रहेर निर्माण भएका हुन् ।

यी तीन सिनेमालाई देशभरका हलले सन्तुलित रूपमा शो विभाजन गरेका छन् । यम शेर्पा निर्देशित ‘मिरमिरे’को १३०, बल्छी धुर्वे निर्देशित ‘गोबर गणेश’को ११२ र निगम श्रेष्ठ निर्देशित ‘भाईरल गोर्खे’को देशव्यापी शो १०७ वटा छ । यी तीन सिनेमालाई व्यापारिक रुपमा सफल बन्न दर्शकको ‘उत्कृष्ट वर्ड अफ माउथ’को जरुरी छ ।

निगम श्रेष्ठको निर्देशनमा निर्माण भएको सिनेमा ‘भाइरल गोर्खे’मा सौगात मल्ल, सृष्टि श्रेष्ठ, बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल लगायतले अभिनय गरेका छन । अमित श्रेष्ठ, विशाल ताम्राकार, महेश लामिछाने र केवल जंग कुँवर निर्माता रहेको सिनेमाले सामाजिक सञ्जालमा भाइरल बन्ने मोह र त्यसले व्यक्तिको जीवनमा पार्ने प्रभावलाई कथाको केन्द्रमा राखेको छ ।

एके ब्रदर कम्पनी, द जिएमआई एकेडेमी र निर्भाना फिल्म स्कुलको व्यानरमा निर्माण भएको सिनेमाको मंगलबार काठमाडौंमा आयोजित प्रिमियर शोमा निर्देशक निगमको निर्देशकिय पक्ष, कथाको कमेडी पलट तथा मुख्य कलाकार सौगात र सृष्टिको अभिनयको प्रशंसा भएको थियो । सिनेमाका सह-निर्माता निर्भाना फिल्म स्कुल, भुवन अधिकारी र निखिल पौडेल हुन् । अमर महर्जनको सिनेमाटोग्राफी रहेको सिनेमालाई लम्जुङको भुजुङ गाउँ, गोरखा र चितवनमा खिचिएको हो ।

यम शेर्पाको लेखन तथा निर्देशनमा निर्माण ‘मिरमिरे’मा दयाहाङ राई, प्रकाश सपूत, सिर्जना निङलेखु, माओत्से गुरुङ, छुल्ठिम गुरुङ, बाल कलाकार शाइसा गौचन लगायतको अभिनय रहेको छ । दयाहाङ र प्रकाशले सहकार्य गरेको यो पहिलो सिनेमा हो । बाबु-छोरीबीचको भावनात्मक सम्बन्ध र त्रिकोणात्मक प्रेमकथालाई सिनेमामा प्रस्तुत गरिएको छ ।

हास्य कलाकारको रुपमा परिचित मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ले ‘गोबर गणेश’लाई निर्देशन गरेका हुन् । उनी स्वयंको कथा तथा मुख्य भूमिका रहेको सिनेमामा वर्षा सिवाकोटी, निर्मल शर्मा, पदम तामाङ, पुजन घिमिरे (पुकु), विनोद न्यौपाने, लक्ष्मीनाथ तिमल्सिना, सन्तोष बानियाँ, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना, बुद्धि तामाङ लगायतको पनि अभिनय छ ।