द सिनेमा टाइम्स, काठमाडौं । अमरदीप सापकोटाको लेखन तथा निर्देशनमा निर्माण हुने दुई सिनेमा ‘कालकट्टी’ र ‘काकाको बिहे’को घोषणा गरिएको छ । शुक्रबार निर्माण टिमले यी दुई सिनेमाको थिम पोस्टर सार्वजनिक गर्दै निर्माण घोषणा गरेको हो । निर्देशक सापकोटा यी सिनेमा ८ वर्षपछि निर्देशनमा पुनरागमन गर्ने भएका हुन् ।
यी दुवै सिनेमाका शीर्षकले कमेडी र सामाजिक कथावस्तुमा बन्ने संकेत गर्छ । ‘कालकट्टी’को अर्थ अशुभ वा हानिकारक भन्ने हुन्छ । यी दुवै सिनेमाको निर्माण रघुजी फिल्मस्ले गर्नेछ । जसको नेतृत्व रघुनाथ सापकोटाले गरेका छन् । उनी रंग पत्रकार समेत हुन् । हरेक वर्ष ‘नेपाल ग्रामीण सिनेमा महोत्सव’को आयोजना गर्दै आएका उनले यसअघि टेलिसिरियल ‘सर्खारको सर’ निर्माण थिए ।
दुई सिनेमामध्ये ‘कालकट्टी’को छायांकन यही महिना सुरु हुनेछ । माघ अन्तिम हप्ताबाट सिनेमाको छायांकन सुरू गर्ने तयारी गरिएको छ । त्यसका लागि हाल प्रि-प्रोडक्सनको काम भइरहेको र कलाकार छनोटको प्रक्रिया अन्तिम चरणमा पुगेको निर्माता सापकोटाले बताए । सिनेमामा स्थापित कलाकारकै अभिनय रहने उनको भनाई छ ।
‘कालकट्टी’को छायांकनको जिम्मा निसाल पौडेललाई दिइएको छ । उनले यसअघि ‘कल्ली’, ‘कौसीद’ जस्ता सिनेमा खिचिसकेका छन् । भीम विष्टको संगीत रहने सिनेमालाई आरआर फिल्म्सले देशभर वितरण गर्नेछ । निर्माण पक्षका अनुसार यी दुई सिनेमा फरक स्वाद र शैलीका हुनेछन् । यी दुवै सिनेमालाई आगामी वर्ष दर्शकमाझ ल्याउने तयारी गरिएको छ ।


प्रतिक्रिया