‘परिवर्तन’ प्रचारका लागि झापाको माई मेलादेखि कलेज धाउँदै सुशील र अञ्जना

‘परिवर्तन’ प्रचारका लागि झापाको माई मेलादेखि कलेज धाउँदै सुशील र अञ्जना

द सिनेमा टाइम्स
49
Shares

द सिनेमा टाइम्स, काठमाडौं । आगामी शुक्रबार अर्थात् माघ ९ गतेबाट प्रदर्शनको तयारीमा रहेको एक्सनप्रधान सिनेमा ‘परिवर्तन’को टिजर तथा ट्रेलरले दर्शकमाझ उत्सुकता बढाइरहँदा यसको निर्माण पक्ष ‘ग्राउन्ड लेभल’बाट प्रचार अभियानमा जुटेको छ ।

सिनेमाका मुख्य कलाकारहरू पूर्वनेपालको ठूलो सहर मानिने झापामा पुगेर त्यहाँका मेला-महोत्सवदेखि कलेजमा पुगेर सिनेमाबारेमा दर्शकलाई जानकारी गराइरहेका छन् । हरेक वर्ष माघे संक्रान्तिको अवसरमा झापाको कन्काई नदी किनारमा लाग्ने प्रसिद्ध माई मेलामा बिहीवार सिनेमाका मुख्य कलाकार सुशील श्रेष्ठ र अञ्जना बराइली सहभागी भएका थिए ।

दर्शकलाई त्यहाँ उनीहरूले सिनेमा हेर्न निम्तो दिँदै ‘पाकेको चिउरी’ गीतमा नृत्य गरेर मनोरञ्जन प्रदान गरेका थिए । शुक्रबारबाट निर्माण पक्षले पूर्वमा कलेज केन्द्रित प्रचार अभियान पनि सुरू गरेको छ । एक्सनप्रधान टिजरपछि चर्चामा रहेको ‘परिवर्तन’को यसै साता सार्वजनिक ट्रेलरले दर्शकमा थप उत्साह पैदा गरेको छ ।

युट्युबमा ११ लाखभन्दा बढीले हेरिसकेको ट्रेलरलाई कमेन्ट सेक्सनमा प्रशंसाको ओइरो लागेको छ । प्रायःले सुशीलको एक्सनको प्रशंसा गरेका छन् भने मेकिङ, छायांकन, र ब्याकग्राउन्ड स्कोरको पनि सराहना भएको छ । दीपक सिवाकोटी कथा र निर्माण रहेको सिनेमाको पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका हुन् ।

विजय केरुङको निर्देशनमा निर्माण भएको सिनेमामा सुशील र अञ्जनासहित करिश्मा मानन्धर, सरोज खनाल, बुद्धि तामाङ, हेमन्त बुढाथोकी, सुवास मेचे, सिरु विष्ट, आशा पौडेल लगायतको पनि अभिनय रहेको छ ।

दिव्यासी फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमामा बन्दे प्रसादको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी, एसडी योगीको संगीत, श्री श्रेष्ठको द्धन्द्ध निर्देशन रहेको सिनेमालाई आरआर फिल्मस्ले वितरण गरेको हो ।