द सिनेमा टाइम्स, काठमाडौं । दिनेश राउतको निर्देशनमा निर्माण भएको लभस्टोरी सिनेमा ‘कुमारी’को नेपालगञ्जबाट सांगीतिक यात्रा सुरू भएको छ । ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट विथ केहर एन्ड द लुङा’ नाम दिइएको यो कार्यक्रम बिहीवार साँझ नेपालगञ्जस्थित होटेल स्टार लाइटको प्राङ्गणमा गरिएको थियो । जहाँ २ हजारभन्दा बढी दर्शक उपस्थित थिए ।
आगामी २३ गते प्रणय दिवसको अवसर पारेर प्रदर्शनमा आउने सिनेमाको कार्यक्रममा गायक केहर सिंह लिम्बू र उनको ब्याण्डले सांगीतिक प्रस्तुति दिँदा सिनेमाका मुख्य जोडी अबिशेक खड्का र आकृति राजभण्डारीले आकर्षक नृत्य प्रस्तुत गरेका थिए ।
केहरले ‘कुमारी’को चर्चित गीत ‘डोको बुन्ने’ गाउँदा दर्शकको हुटिङले कार्यक्रम स्थल नै गुञ्जायमान बनेको थियो । उनले दर्शकलाई सिनेमाका अन्य गीत ‘कता छौ’ र ‘तिमी बिना’ गाएका थिए ।
नेपालगञ्जबाट सुरू भएको यो सांगीतिक यात्रा अब देशका अन्य सहरहरूमा पनि पुग्नेछ । निर्माण पक्षका अनुसार माघ ३ गते पोखरा, ६ गते चितवन, १० गते काठमाडौं र १७ गते झापाको दमकमा कार्यक्रम आयोजना हुनेछ । माघ १० गते काठमाडौंको भृकुटीमण्डपमा हुने खुला कन्सर्टमा सिनेमाको ट्रेलर समेत सार्वजनिक गरिँदैछ ।
विनिश इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको र पिक्चर फ्रेमको सहकार्य रहेको सिनेमामा अबिषेक र आकृतिसहित घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का लगायतको अभिनय रहेको छ ।
सिनेमाका निर्माता महेन्द्र अधिकारी तथा कार्यकारी निर्माता केदार भुसाल हुन् । कथा तथा स्क्रिप्ट विकास सुवेदीले लेखेको सिनेमाका छायांकन निर्देशन सुसन प्रजापतिले गरेका छन् । सुप्रिम पराजुलीको सम्पादन तथा कलर ग्रेडिङ र उत्तम न्यौपानेको साउन्ड डिजाइन रहेको छ।



प्रतिक्रिया