द सिनेमा टाइम्स, काठमाडौं । आगामी माघ २३ गतेबाट प्रदर्शनमा आउने लभस्टोरी ‘कुमारी’को प्रचारका लागि शनिवार साँझ पोखराको हल्लनचोकमा आयोजित ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट विथ केहर एण्ड द लुङा’ भव्य रूपमा सम्पन्न भएको छ ।
गत माघ १ गते नेपालगञ्जबाट सुरु भएको देशव्यापी सांगीतिक यात्राको दोस्रो गन्तव्यका रूपमा रहेको पोखरामा करिब ७ हजार दर्शकको उत्साहजनक उपस्थितिले कार्यक्रमलाई थप रौनक प्रदान गरेको थियो । कन्सर्टमा सिनेमाका मुख्ख कलाकार अबिशेक खड्का र आकृति राजभण्डारी स्टेजमा चढ्दा दर्शकबाट हुटिङले कार्यक्रम स्थल नै गुञ्जायमान भएको थियो ।
यो जोडीले सिनेमामा समावेश अहिलेको चर्चित गीत ‘डोको बुन्ने निगाली चोयाले’मा नृत्य गर्दा माहोल उत्साहित देखिन्थ्यो । कलाकारद्वयले पोखरेली दर्शकको अभूतपूर्व मायाप्रति आभार प्रकट गर्दै माघ २३ गतेदेखि देशभरका हलमा प्रदर्शन हुने सिनेमा ‘कुमारी’ हेर्न आग्रह गरेका थिए ।
सांगीतिक माहोललाई तताउन पाश्र्व गायक केहर सिं लिम्बु र उनको ब्याण्ड ‘केहर एण्ड द लुङा’का सदस्यले सिनेमाका गीत ‘डोको बुन्ने’, ‘कता छौ मेरो फूल’ र ‘तिमी बिना’सँगै आफ्ना चर्चित सिर्जना ‘सरर’ र ‘बैगुनी’ प्रस्तुत गरेका थिए । सिनेमाका सबै गीतमा स्वर दिएका केहर र उनको ब्याण्डको प्रस्तुतिमा पोखरेली दर्शक झुमेका थिए ।
पोखरामा सिनेमा र कलाकारप्रति देखिएको क्रेजले आफू निकै पुलकित भएको निर्देशक दिनेश राउतले बताए । स्टेजबाटै दर्शकलाई धन्यवाद दिँदै उनले दर्शकको यो साथले सिनेमाप्रति थप उत्साह जगाएको उल्लेख गरेका थिए ।
विनिश इन्टरटेन्मेन्टको ब्यानरमा महेन्द्र अधिकारीद्वारा निर्मित यो सिनेमाको टोली माघ ६ गते चितवन, १० गते काठमाडौं र १७ गते झापाको दमकमा प्रस्तुती दिनेछ । आगामी माघ १० गते काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने विशेष कन्सर्टमा सिनेमाको ट्रेलर समेत सार्वजनिक गर्ने तयारी निर्माण पक्षको छ ।



प्रतिक्रिया