काठमाडौं-५ बाट अभिनेत्री निशा अधिकारी प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार

काठमाडौं-५ बाट अभिनेत्री निशा अधिकारी प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार

द सिनेमा टाइम्स
35
Shares

द सिनेमा टाइम्स, काठमाडौं । अभिनेत्री तथा निर्मात्री निशा अधिकारी आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार बनेकी छन् । उनले काठमाडौं क्षेत्र नम्बर ५ बाट गतिशील लोकतान्त्रिक पार्टीबाट उम्मेदवारी दर्ता गराएकी हुन् । यही क्षेत्रकी मतदाता रहेकी यस पार्टीकी केन्द्रीय सदस्य समेत हुन् ।

करिब डेढ दशकदेखि नेपाली सिनेमा क्षेत्रमा सक्रिय उनी पहिलो पटक संसदीय चुनाव लड्न लागेकी हुन् । सन् २००९ मा रिलिज भएको सिनेमा ‘मिसन पैसा’बाट अभिनय करिअर सुरु गरेकी उनले अहिलेसम्म लगभग ३० वटा सिनेमामा काम गरिसकेकी छन् । पछिल्लो पटक ‘आँखा’मा देखिएकी उनले सन् २०१७ मा आफ्नै लगानीमा सिनेमा ‘झ्यानाकुटी’ निर्माण गरेकी थिइन् । गत वर्ष रोमान्टिक कमेडी ‘माया प्रीति’ निर्माण घोषणा गरेपनि अहिलेसम्म छायांकनमा निस्केको छैन् ।

निशाले उम्मेदवारी दिएको क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसबाट प्रदीप पौडेल, नेकपा एमालेबाट ईश्वर पोखरेल, रास्वपाबाट सस्मित पोखरेल, नेपाली कम्युनिष्ट पार्टीबाट कल्पना शर्मा लगायत चुनावी प्रतिस्पर्धामा छन् । यसअघिको निर्वाचनमा एमालेका पोखरेललाई ५ हजारभन्दा बढी मतले पराजित गर्दै नेपाली काँग्रेसका प्रदीप त्यस क्षेत्रबाट निर्वाचित भएका थिए ।

मानसिक स्वास्थ्य, उद्यमशिलता, पर्यटन, कृषि लगायतका विषयलाई मुख्य एजेन्डा बनाएर निर्वाचनमा होमिएकी निशाले अबको १० वर्ष देश र जनताप्रति समर्पित भएर काम गर्ने बताएकी छन् । आफूले अहिलेसम्म राम्रो उम्मेदवारलाई भोट हाल्न नपाएको भन्दै महिला सशक्तिकरणका लागि पनि आफूले उम्मेदवारी दिएको बताउँछिन् ।