द सिनेमा टाइम्स, काठमाडौं । दिनेश राउत निर्देशित लभस्टोरी सिनेमा ‘कुमारी’ले प्रचार अभियान तीव्र बनाएको छ । यतिबेला देशव्यापी सांगीतिक यात्रामा रहेको सिनेमाको टिमले यही शनिबार अर्थात् माघ १० गते संघीय राजधानी काठमाडौंमा खुला कन्सर्ट आयोजना गर्दैछ । सो कार्यक्रम भृकुटीमण्डपस्थित प्रदर्शनी स्थलमा हुने जनाइएको छ ।
सिनेमाको काठमाडौं कन्सर्ट दुईवटा कारणले विशेष बन्नेछ । त्यस कार्यक्रममा गायक केहर सिंह लिम्बूले आफ्नो ब्यान्ड ‘केहर एण्ड द लुङा’को साथमा सांगीतिक प्रस्तुति दिनेछन् भने सोही अवसरमा सिनेमाको ट्रेलर पनि सार्वजनिक गरिनेछ । साँझको ६ बजे सुरू हुने कन्सर्टमा प्रवेश निःशुल्क राखिएको छ । कार्यक्रममा १० हजारभन्दा बढी दर्शकको उपस्थिति रहने अपेक्षा गरिएको छ ।
माघ १ गते नेपालगन्जबाट सुरू भएको सिनेमाको सांगीतिक यात्रा माघ ३ गते पोखराको हल्लनचोक र माघ ६ गते चितवनको नारायणी किनारमा सम्पन्न भइसकेको छ । पोखराको कार्यक्रममा करिब ७ हजार दर्शक उपस्थित भएका थिए । काठमाडौंपछि झापाको दमकमा कन्सर्ट आयोजना गरिँदैछ । त्यहाँ माघ १७ गते कार्यक्रम राखिएको छ ।
बिनिश इन्टरटेन्मेन्ट, पिक्चर फ्रेम र केन्द्र मोसन पिक्चर्सको सहकार्यमा निर्माण भएको सिनेमामा अबिषेक खड्का, आकृति राजभण्डारी, घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने लगायतको अभिनय रहेको छ ।
प्रणय दिवस अर्थात् भ्यालेनटाइन डेको छेको पारेर माघ २३ गतेबाट प्रदर्शनमा आउन लागेको सिनेमा महेन्द्र अधिकारीको लगानीमा निर्माण भएको हो । विकास सुवेदीको लेखन रहेको सिनेमाका कार्यकारी निर्माता केदार भुषाल र छायांकार सुशन प्रजापति हुन् ।



प्रतिक्रिया