द सिनेमा टाइम्स, काठमाडौं । यो शुक्रबार अर्थात् माघ ९ गतेबाट प्रदर्शनमा आउने एक्सन सिनेमा ‘परिवर्तन’ सेन्सर पास भएको छ । चलचित्र जाँच समिति (सेन्सर बोर्ड)को पिजी सर्टिफिकेटसहित यो सिनेमा सेन्सर पास भएको हो । अब यो सिनेमा हेर्नका लागि १६ वर्ष मुनिकाका दर्शकले अभिभावकसहित हल जानुपर्ने हुन्छ ।
सिनेमालाई विजय केरुङले निर्देशन गरेका हुन् । सिनेमाको सेन्सर पास भइसकेपछि निर्देशक केरुङले समसामयिक विषयवस्तु तथा राजनीतिक उथलपुथल कथा रहेकाले पिजी सर्टिफिकेट पाएको बताए । उनका अनुसार केहि डर लाग्दा दृश्यका कारण १६ वर्षमुनिका दर्शकलाई सिनेमा हेर्नका लागि अभिभावक चाहिएको हो ।
यो सिनेमाको पछिल्लो समय गीत र ट्रेलर चर्चामा छन् । सिनेमामा समावेश गीत ‘पाकेको चिउरी’ दर्शकमाझ लोकप्रिय छ । यसको ट्रेलरलाई दर्शकले छोटो समयमा नै ११ लाखभन्दा बढि दर्शकले हेरेका थिए । सिनेमामा सुशील श्रेष्ठ, अञ्जना बराईली, सरोज खनाल, करिश्मा मानन्धर, बुद्धि तामाङ, हेमन्त बुढाथोकी, सुवास मेचेको मुख्य भुमिका छ ।
दिव्यासी फिल्म्सको ब्यानरमा निर्माण भएको सिनेमा ‘परिवर्तन’लाई दीपक सिवाकोटीले निर्माण गरेका हुन् । निर्माता सिवाकोटीकै कथा रहेको सिनेमाको पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका छन् । एक्सन–सस्पेन्स विधामा निर्माण गरिएको सिनेमामा बन्दे प्रसादको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी र एसडी योगीको संगीत सुन्न सकिन्छ ।
यो सिनेमामा श्री श्रेष्ठको द्धन्द्ध निर्देशन दर्शकले हेर्न पाउने छन् । पछिल्लो समय उनी द्धन्द्ध निर्देशनमा निकै चर्चामा रहेका छन् । उनको द्धन्द्व कोरियोग्राफीको तारिफ हुँदै आएको छ । आरआर फिल्मस्ले वितरण गरेको सिनेमाको अग्रीम टिकट बुकिङ समेत खुलिसकेको छ ।



प्रतिक्रिया