द सिनेमा टाइम्स, काठमाडौं । अनिल बुढा मगरको दोस्रो निर्देशकिय सिनेमा ‘मितज्यू’को छायांकन सुरु भएको छ । वसन्त पञ्चमीको अवसर पारेर दाङस्थित अम्बिकेश्वरी मन्दिरमा शुभ मुहूर्त गर्दै सिनेमाको छायांकन औपचारिक रूपमा प्रारम्भ गरिएको निर्माण टिमले जनकारी दिएको हो ।
गत वर्षको हिट सिनेमा ‘घरज्वाइँ’ निर्देशन तथा निर्माताको दोस्रो सिनेमाको धार्मिक विधिपूर्वक पूजा गरेर पहिलो दृश्य खिचिएको थियो । निर्माता जनक घर्ती मगरका अनुसार ‘मितज्यू’ सामाजिक कथावस्तुमा आधारित सिनेमा हो । जसको सम्पुर्ण छायांकन दाङ र रोल्पाका विभिन्न स्थानमा गरिनेछ ।
सिनेमामा दयाहाङ राई, सौगात मल्ल, तेरिया फौजा मगर, पुस्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, रुशा न्यौपाने, अरुण पुन मगर, उत्तम राज पाण्डे, सविन कट्टेल, उमेश सोनाम, पवित्रा खड्का, चाहाना राना मगर, अनुशा राई, खड्गबहादुर पुन मगर (खबपु) लगायतको अभिनय रहनेछ ।
भारतीय टेलिभिजन रियालिटी शो ‘डिआईडी लिटिल मास्टर सिजन ३’ र ‘झलक दिखलाजा सिजन ९’ विजेता तेरियाले यही सिनेमाबाट नेपाली सिनेमामा पाइला चाल्न लागेकी हुन् । यो सिनेमाका मुख्य सहायक निर्देशक फिरोज खड्का, सहायक निर्देशक अनिल दाहाल, सञ्जु नेपाली र एल्मिना राई रहेका छन् ।
जीएम मुभिज प्रोडक्सनमा निर्माण हुने सिनेमाका प्रोडक्सन डिजाइनरमा किशोर नेपाल, ड्रेस डिजाइनरमा संगीता रोका मगर, सम्पादकमा लोकश बज्राचार्य, छायाकारमा शिशिर बिशंखे, द्वन्द्व निर्देशकमा प्रभात विष्ट र साउन्ड डिजाइनरमा नवीन श्रेष्ठ छन् । श्रीकृष्ण बम मल्लको संगीत रहने सिनेमा आगामी जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा प्रदर्शनमा आउने छ ।


प्रतिक्रिया