वसन्त पञ्चमीको अवसर पारेर शुक्रबारबाट ‘परिवर्तन’ देशव्यापी प्रदर्शनमा

वसन्त पञ्चमीको अवसर पारेर शुक्रबारबाट ‘परिवर्तन’ देशव्यापी प्रदर्शनमा

द सिनेमा टाइम्स
84
Shares

द सिनेमा टाइम्स, काठमाडौं । माघ ९ गते अर्थात् आज वसन्त पञ्चमीको अवसर पारेर शुक्रबारबाट सिनेमा ‘परिवर्तन’ देशव्यापी प्रदर्शनमा आएको छ । करिब १५० शोसहित प्रदर्शनमा आएको यो सिनेमाका प्रचार सामाग्रीले दर्शकमा उत्साह बढाएकाले चिसिएको नेपाली सिनेमाको बक्सअफिसलाई तताउने गरी व्यापारिक नतिजा आउने अपेक्षा गरिएको छ ।

एक्सन-लभस्टोरी कथामा निर्माण भएको ‘परिवर्तन’ अभिनेता सुशील श्रेष्ठ मुख्य भूमिकामा देखिएका छन् । उनका लागि यो सिनेमा व्यावसायिक रुपमा सफल हुनैपर्ने दबाब समेत छ । यसमा उनी एक्सन अवतारमा प्रस्तुत भएका छन् । यता, सुशीको अपोजितमा अभिनेत्री अञ्जना बराइली देखिएकी छन् । उनलाई पछिल्लो समय नेपाली सिनेमाकी लक्की हिरोइनको रुपमा हेरिन्छ । उनी परिवर्तनको लागि लक्की सावित होलिन् कि नहोलिन् भन्ने चर्चा सिनेमा बजारमा छ । त्यसको लागि ‘परिवर्तन’ चल्नै पर्ने दबाबमा अञ्जना छिन् ।

विजय केरुङको निर्देशनमा निर्माण भएको सिनेमामा सुशील र अञ्जनासहित करिश्मा मानन्धर, सरोज खनाल, बुद्धि तामाङ, हेमन्त बुढाथोकी, सुवास मेचे, पुकार भट्टराई, यामनाथ खरेल, सिरु विष्ट, आशा पौडेल लगायतको अभिनय रहेको छ । सिनेमालाई दीपक सिवाकोटीले निर्माण गरेका हुन् । यसमा उनी स्वयंको कथा छ भने शिवम् अधिकारीले पटकथा तथा संवाद लेखेका हुन् ।

सिनेमाले युवाको विद्रोही सोच, देशप्रतिको जिम्मेवारी र सुधारको चाहनालाई कथाको केन्द्रमा राखेको छ । दक्षिण भारतीय सिनेमामा साउन्ड डिपार्टमेन्टमा काम गर्दै आएकी एम गीता गुरप्पाको साउन्ड डिजाइनर रहेको यस सिनेमामा शिव ढकालको डिओपी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन, बन्दे प्रसादको सम्पादन र एसडी योगीको संगीत छ ।