पूजा शर्मा फिचर्ड आइटम डान्स खिचेसँगै ६० दिनमा ‘कल्ली’ छायांकन प्याकअप

पूजा शर्मा फिचर्ड आइटम डान्स खिचेसँगै ६० दिनमा ‘कल्ली’ छायांकन प्याकअप

द सिनेमा टाइम्स
70
Shares

द सिनेमा टाइम्स, काठमाडौं । आगामी फागुन १ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको सिनेमा ‘कल्ली’को छायांकन सकिएको छ । काठमाडौं किर्तिपुरस्थित चोभारमा एउटा गीतको छायांकन सकेसँगै सिनेमाको सम्पूर्ण छायांकन सकिएको निर्माता किरण नेपालीले जानकारी दिएका हुन् ।

अभिनेत्री पूजा शर्मा फिचर्ड आइटम डान्स २ दिन लगाएर खिच्दै सिनेमाको छायांकन ६० दिनमा प्याकअप भएको हो । यो सिनेमाको यसअघि कर्णाली प्रदेशको जुम्लामा छायांकन गरिएको थियो । पूजाले ‘क्या राम्री’ बोलको गीतमा नृत्य गरेकी हुन् । यो गीतमा रामजी लामिछानेको कोरियोग्राफी हेर्न पाइनेछ ।

आशिष अविरलको संगीतमा तयार भएको गीतमा आशिष र मेलिना राईको स्वर तथा सुरेन्द्र रानाको शब्द रचना छ । यो गीत आफूलाई सुन्ने वित्तिकै मन परेकाले काम गरेको अभिनेत्री शर्मा बताउँछिन् । बिहेपश्चात पूजाले यो सिनेमाको गीतमा पहिलो पटक काम गरेकी हुन् ।

पहिलो पटक आइटम डान्स गर्न पाउँदा पनि खुशी लागेको पूजाको तर्क थियो । यो गीतको भिडियोमा पूजासहित उत्तम प्रधान, किरण श्रेष्ठ र सुलक्षण भारतीले नृत्य गरेका छन् ।

लेकाली इन्टरटेन्मेन्ट र कस्तुरी प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको सिनेमामा लक्ष्मण सुनारको कथा र निर्देशन, महेश दवाडीको पटकथा तथा संवाद लेखन छ । ‘कल्ली’मा सौगात मल्ल, अर्पण थापा, बेनिशा हमाल, नाजिर हुसेन, वर्षा राउत, बेगम नेपाली, बिनोद न्यौपाने, रेयर राई, प्रियना आचार्य, अर्जुन गुरुङ, संजोग राणा, गीता अधिकारी, कुल बहादुर अधिकारी, सरस्वती खत्री, श्याम मगर र बाल कलाकार उपेश ढकाल, मञ्जिला बानियाँ, समर्पण खतिवडाको अभिनय छ ।

निसाल पौडेलको डीओपी, मिलन श्रेष्ठको सम्पादन, सरित राई र केतन क्षेत्रीको संगीत रहेको सिनेमाका निर्माण नियन्त्रक सुरज आचार्य हुन् । यो सिनेमाको यसअघि सार्वजनिक टिजरलाई दर्शकले मन पराएका छन् । सिनेमा देवता र राक्षसको कथा भन्छ । यो गीत केही समयपछि नै सार्वजनिक गर्ने निर्माणपक्षले बताएको छ ।