ब्लकबस्टर निर्देशक सरोज पौडेलको ‘सिन्दुरे जात्रा’मा विजय र अञ्जना अनुबन्धित

ब्लकबस्टर निर्देशक सरोज पौडेलको ‘सिन्दुरे जात्रा’मा विजय र अञ्जना अनुबन्धित

द सिनेमा टाइम्स
56
Shares

द सिनेमा टाइम्स, काठमाडौं । सरोज पौडेलको निर्देशनमा निर्माण हुने सिनेमा ‘सिन्दुरे जात्रा’को निर्माण टिमले कलाकार अनुबन्ध गर्न सुरु गरेको छ । सारंगी फिल्मस्को प्रस्तुतिमा निर्माण हुन लागेको सिनेमाको टिमले सरस्वती पूजाको अवसर पारेर आज मुख्य दुई कलाकार अनुबन्ध गरेको हो ।

यो सिनेमाको मुख्य भूमिकामा अभिनेता विजय बराल र अभिनेत्री अञ्जना बराइली अनुबन्ध भएका छन् । ब्लकबस्टर निर्देशक सरोज पौडेलसँग यी दुवै कलाकारको यो दोस्रो सहकार्य हो । यसअघि उनीहरूले सरोज पौडेलकै निर्देशनमा बनेको सिनेमा ‘पूर्णबहादुरको सारङ्गी’मा काम गरेका थिए । जुन नेपाली सिनेमा इतिहासकै सर्वाधिक कमाउने सिनेमा बनेको छ ।

निर्देशक पौडेलले ‘पूर्णबहादुरको सारङ्गी’ मार्फत आफूलाई नेपालको ब्लकबस्टर निर्देशकको रूपमा स्थापित गरेका थिए । यो सिनेमाले एउटा सामान्य गन्धर्व परिवारको कथा, बुबा–छोराको सम्बन्ध र शैक्षिक संघर्षलाई मार्मिक ढंगले प्रस्तुत गरे, जसले देशभरका दर्शकलाई रुवायो र हलसम्म तान्यो । त्यसपछि उनको निर्देशनमा निर्माण भएको सिनेमा ‘कोशेढुंगा’ बक्सअफिसमा असफल भएको थियो ।

यो सिनेमा अभिनेता विजय बरालको करियरको टर्निङ पोइन्ट बन्यो । उनले ‘पूर्णबहादुर’को केन्द्रीय भूमिका निर्वाह गरेका थिए । अञ्जनाले यस सिनेमामा विजय बरालको श्रीमतीको भूमिका निर्वाह गरेकी थिइन् । अहिले निर्देशक पौडेलले त्यही लक्की टिम विजय र अञ्जनालाई लिएर ‘सिन्दुरे जात्रा’ सुरु गर्न लागेसँगै पुनः एकपटक पर्दामा जादु चलाउने अपेक्षा गरिएको छ ।

अन्य कलाकार विस्तारै अनुबन्ध गर्दै जाने निर्देशक पौडेलले बताए । ‘सिन्दुरे जात्रामा हामी चरित्र सुहाउँदो कलाकार अनुबन्ध गराउँदै जानेछौं,’ निर्देशक सरोजले भने, ‘अबको केही समयमा हामी कलाकार फाइनल गरेर अरु काम सुरु गर्नेछौं । विजय र अञ्जना कथाको माग अनुसार नै अनुबन्धित गरेका छौं ।’ सिनेमालाई राम्रो बनाउन कुनै पनि कसर बाँकी नराख्ने र कलाकार छनोटमा कुनै सम्झौता नगर्ने उनको भनाई छ ।

सबिन अधिकारी र वसन्त न्यौपानेको लेखन रहेको सिनेमामा कथा पनि निर्देशक पौडेल स्वयंको छ । आरआर फिल्मस्ले वितरण गर्ने सिनेमाको डिजिटल पार्टनरमा ओएसआर डिजिटल रहेको छ । सिनेमाको रिलिज मितिबारे निर्देशक पौडेलले केही जानकारी दिएका छैनन् ।

ऐतिहासिक कमाई गर्ने सिनेमाको टिम फेरि एकसाथ आउँदा सिनेमा क्षेत्र र दर्शकमाझ ‘सिन्दुरे जात्रा’लाई लिएर अहिलेदेखि नै उत्साह र अपेक्षा सिर्जना भएको छ ।