अर्पण थापाको निर्देशन मुख्य भूमिकामा ‘फ्रेन्च किस’ शुभमुहूर्त, बाँधियो ‘शाम्बाला’ अभिनेत्री थिन्ले ल्हामोसँग जोडी

अर्पण थापाको निर्देशन मुख्य भूमिकामा ‘फ्रेन्च किस’ शुभमुहूर्त, बाँधियो ‘शाम्बाला’ अभिनेत्री थिन्ले ल्हामोसँग जोडी

द सिनेमा टाइम्स
84
Shares

द सिनेमा टाइम्स, काठमाडौं । अभिनेता अर्पण थापाको निर्देशनमा सिनेमा ‘फ्रेन्च किस’ निर्माण हुने भएको छ । एटीएफ प्रोडक्सन प्रालिको ब्यानरमा निर्माण हुन लागेको सिनेमाको शुक्रबार सरस्वतीको पूजा (वसन्तपञ्चमी)को अवसर पारेर काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा घोषणासँगै शुभमुहूर्त गरिएको छ ।

नेपाली सिनेमा क्षेत्रमा फरक शैली र धारका सिनेमा निर्देशनका लागि चिनिने अभिनेता अर्पण थापाले आफ्नो नयाँ प्रोजेक्ट ‘फ्रेन्च किस’को औपचारिक रुपमा घोषणा गरेका हुन् । यो सिनेमालाई थापा स्वयंले निर्देशन गर्दैछन् । सोमबारबाट चितवनका विभिन्न स्थानमा छायांकन सुरु हुनेछ ।

सिनेमामा अर्पण थापा मुख्य भूमिकामा देखिनेछन् । उनीसँगै अन्तर्राष्ट्रियस्तरमा चर्चा कमाएको सिनेमा ‘शाम्बाला’बाट चर्चामा आएकी अभिनेत्री थिन्ले ल्हामो मुख्य भूमिकामा रहनेछिन् । अभिनेत्री थिन्लेले यसअघि स्वीट्जरल्यान्डको विश्वप्रसिद्ध ७७ औँ लोकार्नो सिनेमामहोत्सवमा उत्कृष्ट अभिनयका लागि प्रतिष्ठित ‘बोक्कालिनो डिओर’ अवार्ड जितेकी थिइन् ।

यो सिनेमामा अन्तर्राष्ट्रिय मञ्चमा नेपालको नाम चम्काएकी थिन्ले र भर्सटायल अभिनेता अर्पण थापाको अनस्क्रिन जोडी देखिनेछ । सिनेमाको मुख्य भूमिकामा अभिनेत्री गौरी मल्ल र आयशा तामाङ पनि रहनेछन् । सिनेमाको कार्यकारी निर्मातामा सौगात बस्नेत र सह-निर्मातामा सुभाष बी शाही छन् । सिनेमालाई अनुभवी सिनेमेटोग्राफर सुदीप बरालले खिच्नेछन् ।

सिनेमामा संगीत चर्चित गायक तथा संगीतकार दीपक बज्राचार्यको रहनेछ । रोयल भीमसेन (ट्राइडेन्ट कन्सेप्ट)ले पब्लिसिटी डिजाइनको जिम्मा लिएको सिनेमा सन् २०२६ भित्रमा प्रदर्शनमा ल्याउने लक्ष्य राखिएको छ ।

शीर्षकले नै युवा पुस्ता र प्रेमकथामा आधारित हुनसक्ने अनुमान लगाउन सकिन्छ । अभिनय र निर्देशनमा आफ्नै बेग्लै छाप छाड्न सफल अर्पण थापाको यो नयाँसिनेमाले केही फरक टेस्ट नेपाली दर्शकलाई दिने अपेक्षा गर्न सकिन्छ ।