द सिनेमा टाइम्स, काठमाडौं । कृषा चौलागाईंको निर्देशनमा निर्माण हुन लागेको सिनेमा ‘पारस’का लागि अभिनेत्री जसिता गुरुङ अनुबन्धित भएकी छन् । निर्माण पक्षले शनिबार ‘पारस’को मुख्य भूमिकाको लागि जसितालाई अनुबन्धित गरेको हो ।
यसअघि निर्माण टिमले अभिनेता निखिल उप्रेतीलाई ‘पारस’को मुख्य मध्येको एक भूमिकाको लागि अनुबन्धित गरेको थियो । जसिताको अपोजिटमा निखिल उप्रेती हुने चर्चा छ । तर, निर्माण टिमले आधारिक जानकारी दिएको छैन् । किन सिनेमाका मुख्य कलाकारलाई निर्देशक कृषाले लुकाई रहेकी छन् ? यो सिनेमामा अन्य कलाकार को–को हुनेछन् भन्ने जानकारी निर्माण टिमले दिएको छैन् ।
यसअघि नै सिनेमामा निखिल उप्रेती अनुबन्धित भएसँगै दर्शकमाझ कौतुहलता पैदा भइरहेको छ । एक्सन तथा सामाजिक कथामा आधारित यो सिनेमामा निखिल र जसितालाई दर्शकले मन पराउने विश्वास निर्देशक चौलागाईंको छ । यी बाहेक अन्य कलाकारको बिस्तारै जानकारी दिने तयारी छ ।
निखिल र जसिताको जोडीले दर्शकलाई फरक टेष्ट पक्कै दिने बुझाई निर्माण टिमको छ । यी दुवै कलाकारसँग सिनेमाका लागि कागजी सम्झौता भएको निर्देशक चौलागाईंले बताउँछिन् । सिनेमाको कथा अनुसार नै कलाकार फाइनल गर्दै लगेका छौं,’ उनले भनिन् ।
केपी फिल्मस्को व्यानरमा निर्माण हुने सिनेमालाई भारतीय पटकथाकार सचिन लादियाले लेखेका हुन् । यो सिनेमालाई छायांकार पुरुषोत्तम प्रधानले खिच्ने छन् । यसअघि कृषाले ‘ऐँचो पैँचो’ र ‘पिताम्बर’ निर्देशन गरिसकेकी छन् । यो उनको तेस्रो निर्देशकिय फिचर सिनेमा हुनेछ । सिनेमाको छायांकन आगामी फागुनबाट सुरु गर्ने तयारी निर्माण टिमको छ ।


प्रतिक्रिया