‘भाईरल गोर्खे’, ‘गोबर गणेश’ र ‘मिरमिरे’को एक हप्ताको बक्सअफिस कमाई कति ?

‘भाईरल गोर्खे’, ‘गोबर गणेश’ र ‘मिरमिरे’को एक हप्ताको बक्सअफिस कमाई कति ?

द सिनेमा टाइम्स
147
Shares

द सिनेमा टाइम्स, काठमाडौं । गत माघ १ गते माघे संक्रान्तिको दिनबाट चार चर्चित कलाकार दयाहाङ राई, प्रकाश सपुत, सौगात मल्ल र बल्छी धुर्वेका सिनेमाबीच बक्सअफिसमा प्रतिस्पर्धा भएको थियो । जसले दर्शकमाझ यी सिनेमाको बक्सअफिस बमाई कस्तो रह्यो भन्ने प्रतिक्षा देखिन्थ्यो । आज सोमबार चलचित्र विकास बोर्डले यी नेपाली सिनेमाको साप्ताहिक बक्सअफिस रिपोर्ट सार्वजनिक गरेर दर्शकको कौतुहलता मेटाएको हो ।

यो मितिमा दयाहाङ राई र प्रकाश सपुत अभिनीत ‘मिरमिरे’, सौगात मल्ल र सृष्टि श्रेष्ठ अभिनीत ‘भाइरल गोर्खे’ र मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’ अभिनीत तथा निर्देशित सिनेमा ‘गोबर गणेश’ एकैसाथ प्रदर्शनमा आएका थिए । तर, यी तीनवटै सिनेमा अपेक्षित रूपमा व्यापार गर्न असफल भएका छन् ।

दयाहाङ र सौगातको सिनेमामाथि घरेलु बक्सअफिसमा ‘बल्छी धुर्वे’को सिनेमा केही हाबी देखिएको छ । ‘मिरमिरे’ र ‘भाइरल गोर्खे’ले व्यापारभन्दा लगभग दोब्बर कमाई ‘गोबर गणेश’ले गरेको छ । चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको बक्सअफिस विवरणमा यो सिनेमाको १० दिनको कुल व्यापार १ करोड १४ लाख रुपैयाँ ग्रस छ ।

‘मिरमिरे’ र ‘भाइरल गोर्खे’ले भने १० दिनमा ४० लाख पनि कमाएका छैनन् । निगम श्रेष्ठ निर्देशित ‘भाइरल गोर्खे’ले १० हजार ६०५ वटा टिकट बिक्री गर्दै ३४ लाख ५३ हजार ग्रस कमाएको छ । यम शेर्पा निर्देशित ‘मिरमिरे’ले १० हजार ८१३ वटा टिकट बिक्रीसहित ३३ लाख ७२ हजार रुपैयाँ ग्रस व्यापार गरेको छ ।

बोर्डले गत पुष ४ गते प्रदर्शन भएको कलाकार अर्जुन घिमिरे ‘पाँडे’ निर्देशित सिनेमा ‘झरीपछिको इन्द्रेणी’को पनि बक्स अफिस विवरण सार्वजनिक गरेको छ । यसले माघ १० गते शनिबारसम्म ३९ हजार २१७ वटा टिकट बिक्री गर्दै १ करोड २३ लाख ८८ हजार ८२९ रुपैयाँ ग्रस कमाइ गरेको छ ।