द सिनेमा टाइम्स, काठमाडौं । लक्ष्मण सुनारको निर्देशनमा निर्माण भएको सिनेमा ‘कल्ली’को प्रदर्शन स्थगित गरिएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनले सिनेमाको प्रचारदेखि प्रदर्शनसम्म प्रभावित भएको हो । आम मानिसको चासो चुनावमा केन्द्रित हुँदा निर्माताहरूले सिनेमाको प्रदर्शन नै स्थगित गर्न थालेका हुन् ।
यसको सुरूवात किरण नेपालीको लगानी रहेको सिनेमा ‘कल्ली’बाट भएको छ । यो सिनेमा आगामी फागुन १ गतेबाट देशव्यापी प्रदर्शनको तयारीमा थियो । तर, अब निर्धारित मितिमा प्रदर्शन नहुने भएको छ । सोमबार सिनेमाको निर्माण कम्पनी लेकाली इन्टरटेन्मेन्ट प्रालिका तर्फबाट किरण नेपालीले जारी गरेको विज्ञप्तिमा हाल सबैको प्राथमिकता चुनाव भएकाले त्यसको सम्मान गर्दै सिनेमाको प्रदर्शन स्थगित गर्ने निर्णय गरिएको जनाइएको छ ।
अब मुलुकमा नयाँ सरकारको गठन र निर्वाचनपछिको सहज वातावरण बनेलगत्तै नयाँ प्रदर्शन मिति घोषणा गरिने विज्ञप्तिमा उल्लेख छ । यो सिनेमाले मान्छेभित्रको देउता र राक्षसीपनको कथा भन्नेछ । सिनेमाको एक गीतमा पूजा शर्माले आइटम नृत्य गरेकी छन् । सिनेमा यसअघि सार्वजनिक टिजरका कारण पनि चर्चामा थियो ।
सिनेमामा सौगात मल्ल, बेनिशा हमाल, उत्तम प्रधान, अर्पण थापा, सुलक्षण भारती, नाजिर हुसेन, वर्षा राउत, परिक्षा लिम्बू, बेगम नेपाली, विनोद न्यौपाने, रेयर राई, प्रियना आचार्य, अर्जुन गुरुङ, संजोग राणा, गीता अधिकारीको अभिनय छ ।
लेकाली इन्टरटेन्मेन्ट र कस्तुरी प्रोडक्सनको सहकार्यमा निर्माण भएको सिनेमामा निर्देशक सुनारको कथा, महेश दवाडीको पटकथा तथा संवाद, निशाल पौडेलको डीओपी, मिलन श्रेष्ठको सम्पादन, आशिष अविरल, सरित राई र केतन क्षेत्रीको संगीत तथा एनवी महर्जनको द्वन्द्व निर्देशन रहेको छ ।


प्रतिक्रिया