द सिनेमा टाइम्स, काठमाडौं । निर्देशक मीनबहादुर भाम विश्वप्रसिद्ध बर्लिन अन्तर्राष्ट्रिय सिनेमा महोत्सवले जुरी सदस्यमा चयन गरेको छ । ७६ औं बर्लिनको अन्तर्राष्ट्रिय जुरी सदस्यको रूपमा घोषणा भएपछि निर्देशक भामले सामाजिक सञ्जालमा आफ्नो खुसी सेयर गरेका छन् ।
उनले लेखेका छन्, ‘७६ औं बर्लिनको अन्तर्राष्ट्रिय जुरी सदस्यका रूपमा सेवा गर्न पाउनु मेरा लागि अत्यन्तै सम्मानको विषय हो । महान निर्देशक विम वेन्डर्सजस्ता सिनेमाका एक स्तम्भ, जसको काम हामी धेरैका लागि मार्गदर्शन बनेको छ । उहाँजस्तो महान व्यक्तिसँगै एउटै मञ्चमा उभिन पाउनु मेरा लागि कल्पनाभन्दा बाहिरको कुरा हो ।’
निर्देशक मीन भामले सन् २०११ मा बलिउड अभिनेता आमिर खानले बर्लिनमा जुरी सदस्यको भूमिका निर्वाह गरेको प्रसंग समेत स्मरण गरेका छन् । अगाडि लेखेका छन्, ‘यो जिम्मेवारी निकै विनम्रताका साथ स्वीकार गरेको छु ।’
नेपालप्रति गर्व व्यक्त गर्दै उनले भनेका छन्, ‘म बर्लिनतर्फ पाइला चाल्दा मेरा हिमालहरूको मौन प्रतिध्वनि, मेरा जनताको दृढता र नेपालको आत्मा सँगै लिएर जानेछु । यो केवल मेरो यात्रा होइन, यो हाम्रो साझा यात्रा हो ।’
बर्लिनाले फेस्टिभल निर्देशक ट्रिसिया टटल तथा अन्य जुरी सदस्यहरूप्रति मीनले आभार व्यक्त गरेका छन् । ‘परिवर्तनकारी शक्तिलाई उत्सवका रूपमा मनाउने यो यात्राका लागि उत्साहित छु । बर्लिनमा भेटौंला,’ मीन भामले लेखेका छन् ।
निर्देशक भामको पछिल्लो सिनेमा ‘शाम्बाला’ थुप्रै अन्तराष्ट्रिय सिनेमा महोत्सवमा पुगेको थियो । बर्लिनमा ‘गोल्डेन बेयर’ पुरस्कारका लागि प्रतिस्पर्धा गर्ने पहिलो नेपाली सिनेमा बनेको थियो । यसले नेपाल रिलिजमा समेत राम्रो व्यापार गरेको थियो ।
सन् २०२६ को बर्लिन अन्तर्राष्ट्रिय सिनेमा महोत्सवको अन्तर्राष्ट्रिय जुरी प्यानलको अध्यक्षमा जर्मनीका विम वेन्डर्स छन् । सदस्यहरूमा मीन बहादुर भाम (नेपाल) सहित बे डुना (दक्षिण कोरिया), शिवेन्द्र सिंह डुंगरपुर (भारत), रेनाल्डो मार्कस ग्रीन (अमेरिका), हिकारी (जापान) र इवा पुस्ज्चिन्स्का (पोल्याण्ड) छन् ।


प्रतिक्रिया