राजेन्द्र बस्नेत निर्देशित ‘कार्की साइँला’को छायांकन २१ दिनमा प्याकअप

राजेन्द्र बस्नेत निर्देशित ‘कार्की साइँला’को छायांकन २१ दिनमा प्याकअप

द सिनेमा टाइम्स
70
Shares

द सिनेमा टाइम्स, काठमाडौं । राजेन्द्र बस्नेतको निर्देशनमा निर्माण भएको सिनेमा ‘कार्की साइँला’को छायांकन सकिएको छ ।

धनकुटाबाट छायांकन सुरु गरिएको सिनेमाको सोमबार सुनसरीको बराहक्षेत्रमा अन्तिम दृश्य खिचिएसँगै २१ दिनमा प्याकअप भएको हो । एक महिनाको छायांकन तालिका राखिएको भएपनि चुस्त व्यवस्थापनका कारण निर्धारित समयभन्दा ९ दिनअघि नै काम सकिएको निर्देशक बस्नेतले बताए ।

छायांकनको क्रममा सिनेमाका मुख्य जोडी जितु नेपाल (मुन्द्रे) र प्रियना आचार्य (मुन्नी)को विवाहको दृश्य समेत खिचिएको थियो । छायांकन पूरा भएसँगै निर्माण पक्षले उक्त दृश्यको तस्वीर सार्वजनिक गरेको छ । यसले सिनेमाममा जितु र प्रियना श्रीमान्-श्रीमतीको भूमिकामा रहेको स्पष्ट पार्छ । दुवैले पहिलो पटक सिनेमामा सहकार्य गरेका हुन् ।

कर्ण बहादुर फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमामा सुशील पोखरेल, विरेन्द्र सिंह कुशहुवा, मान्शी शर्मा, रेणुका आचार्य, दिप्सन लिम्बू, रोदा राई, कमल देवकोटा लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ । सिनेमाका निर्माता बालकुमार राई तथा प्रस्तुतकर्तामा कृष्ण भगत चाम्लिङ रहेका छन् ।

सिनेमामा डम्बर राईको छायांकन, किरण दाहालको द्वन्द्व निर्देशन तथा दिप्सन लिम्बूको संगीत रहेको छ । सिनेमाका मुख्य सहायक निर्देशक रोजल थापा हुन् । ग्रामीण परिवेशमा निर्माण भएको सिनेमा भरिया पात्र (पारिश्रमिक लिएर भारी बोक्ने मानिस)को संघर्षको कथामा आधारित रहेको जनाइएको छ । निर्माण टिमले सिनेमाको प्रदर्शन मिति घोषणा गरेको छैन् ।