Exclusive: भुवनसँग ‘कृ’ गफ, अनमोललाई देशकै अनमोल बनाउन चाहन्छु !

Exclusive: भुवनसँग ‘कृ’ गफ, अनमोललाई देशकै अनमोल बनाउन चाहन्छु !

द सिनेमा टाइम्स
0
Shares

दिनेश/आशिष, काठमाडौँ । अत्याधिक प्रतिक्षा गरिएको सिनेमा ‘कृ’ अहिले नेपालका विभिन्न ठाउँमा छायाँकन भैरहेको छ । सर्वाधिक चर्चामा रहेको यो सिनेमालाई निर्माण टिमले गोप्य रुपमा खिचिरहेको छ । त्यसैले सिनेमाको बारेमा धेरै जानकारी मिडियामा आएका छैनन् ।

यसै विषयमा ‘कृ’का निर्माता मध्येका एक अभिनेता भुवन केसीले सिनेमाको बारेमा अन्तरंग कुराकारी द सिनेमा टाइम्ससँग साटेका छन् । जुन कुराकानीबाट दर्शकले ‘कृ’ सम्बन्धि जानकारी लिन सक्छन ।

 अहिलेसम्मको काम उत्कृष्ट 

अहिलेसम्म सिनेमाको छायाँकन एकदमै राम्रो तरिकाले सम्पन्न भएको छ । सोचे भन्दा राम्रो काम पुरा टिमले गरिरहेको छ । अनमोलको काम अति नै राम्रो छ । अनमोललाई ‘कृ’मा भिन्न गेटअप तथा भूमिकामा देख्न सकिन्छ । यसअघी अनमोलले जति पनि सिनेमाबाट जति पनि दर्शक फ्यान कमाएको थियो त्यो भन्दा दोब्बर यो सिनेमाको लुक्स र कामबाट कमाउने छ ।

 राम्रो सिनेमा बन्न समय र रकम दुवै चाहिन्छ 

हामीले सिनेमा बनाउदा यति दिनमै सिध्याउछौ भनेर कुनै टार्गेट गर्दैनौ । राम्रो काम गर्नलाई जति दिन पनि लाग्न सक्छ । कथाले जति समय र बजेट माग्छ हामीले त्यतिनै खर्चिने हो । नेपालभरको लाईट मगाएर १३ दिनसम्म सिनेमाको क्लाइमेक्स छायाँकन गर्नु जो आफैमा गाह्रो काम हो । यो सिनेमामा सिनेम्याटोग्राफर पुरुषोत्तम प्रधानले अहिलेसम्मकै उत्कृष्ट काम गर्नु  भएको छ । त्यसैले निर्धारित समयमा छायाँकन नसकिदा आत्तिनु पर्ने अवस्था छैन । राम्रो सिनेमा बन्नलाई अवश्य समय लाग्छ ।

कृ’मा द्वन्द निर्देशक चन्द्र पन्तको काम उत्कृष्ट’

‘दाई मैले अब यो बाहेक गर्न बाँकी केहि रहेन । जति पनि जानेको बुझेको थिए । सबै मैले ‘कृ’लाई दिए । यो नै सायद मेरो अन्तिम सिनेमा बन्न सक्छ । किनकी, यो भन्दा बढी एक्सन सायदै कुनै सिनेमामा गरेको थिए होला ।’ द्वन्द निर्देशक चन्द्र पन्तले भनेको कुरा सम्झिदै भुवनले खुसी व्यक्त गरे । साथै कोरियोग्राफर रेनाषा राईले अनमोल केसीलाई पहिलो पटक नचाएर उनको नृत्य राम्रो छैन भन्नेका मुखमा ताला लगाउने चुनौती दिएको कुरा पनि सम्झीए ।

अनमोलको लुक्स दर्शकका लागी सरप्राइज’

अनमोलको भूमिका र लुक्सको बारेमा खुलाउन नचाहने भुवनले पहिलो पटक अनमोलको भूमिकाको बारेमा केहि कुरा भने, ‘अनमोलको लुक्स र भूमिकाको बारेमा अहिले नै थाहा दिइयो भने दर्शकलाई लामो समयको सरप्राइज खल्लो हुन् सक्छ । त्यसैले म यति मात्र जानकारी दिन चाहन्छु, अनमोलको सिनेमामा दुई वटा लुक्स हुनेछ । एउटा पहिलेकै दर्शकीय रोजाईमा परेको ‘चकलेटी र अर्को भिन्न लुक्स हुनेछ | जुन दर्शकलाई ठम्याउन गाह्रो पर्न सक्छ । त्यो लुक्स दर्शकका लागी सरप्राइज हो।’

फ्यानसँग भुवन

कृ’ आफैमा सस्पेन्स 

‘कृ’ के हो ? भन्ने कुरा थाहा पाउन दर्शक हलसम्मै पुग्नु पर्ने हुन्छ । ‘कृ’ शब्द आफैमा सस्पेन्स छ । ‘कृ’को अर्थमा नै कथावस्तु टिकेको छ ।हामीले संस्कृत भाषाबाट लिएको यो शब्दको अर्थ थाहा पाउन कि त संस्कृत भाषाको अध्ययन नै गर्नु पर्छ होइन भने हलसम्म पुग्नै पर्छ ।

कृ’को सवल पक्ष: युनिटी 

‘कृ’ बनाउदाको सवल पक्ष भनेको हाम्रो युनिटी हो । हामीले अहिलेसम्म सानो-सानो कुरा पनि एक-अर्कालाई सेयर नगरेर कुनै पनि काम गरेका छैनौ । सिनेमाको लागी सबैले आफ्नो तर्फबाट शतप्रतिशत दिनु भएको छ । यहिँ युनिटीको फल एकदमै मिठो आउँछ भन्नेमा म ढुक्क छु ।

आधा रकम उठीसकेको छ 

कथाले मागे जति हामीले खर्च गरेका छौ । हाम्रो कामको मुल्यांकन गरेर हाईलाइट्स नेपाल र डिस्ट्रिब्यूटर्सले राम्रो रकम हाल्नु भएको छ ।त्यसैले केहि प्रतिशत पैसा उठी पनि सकेको छ । तर, छायाँकन अझै बाँकी रहेकाले बजेट बढ्न सक्छ ।

४०-४५ प्रतिशत छायांकन सकियो 

‘कृ’ भन्दा अगाडी हाम्रो सिनेम्याटोग्राफर पुरुषोत्तम प्रधानले अर्को सिनेमा खिच्दै हुनुहुन्थ्यो । त्यसैले ‘कृ’को छायाँकन हामीले भनेकै मितिमा सुरु गर्न सकेनौ । अहिले पनि हामीले दिनमा यति सिन सिध्याउनै पर्छ भनेर टार्गेट राखेका छैनौ । जति गर्न सकिन्छ त्यति मात्र गरेका छौ ।आजको डेटसम्म हामीले ४० देखि ४५ प्रतिशत छायाँकन सकेका छौ । त्यसैले छायाँकन समय लम्बिरहेको छ । आशा छ यस्तो नतिजा पनि सकारात्मक आउने छ ।

लोकेशन देश देखि विदेशसम्म 

हामीले सिनेमाको एउटा गीत कतारको मरुभूमिमा गर्ने लक्ष्य राखेका थियौ । तर, सुरुवातमै गर्ने भनेको छायाँकन कतारको तापक्रमले गर्दा सुरुमा गर्न भ्याएनौ । त्यसपछि सिनेमाको छायाँकन सकिदै लाग्दा गर्ने सोच बनाएका थियौ । तर, कतारको पछिल्लो राजनीतिक घटनाक्रमले गर्दा अलि गार्हो परिरहेको छ । कतारको समस्या सुल्झियो भने त्यहिँ, नत्र अन्य कुनै देशमा गर्ने योजना बनाएका छौ । बाँकी दुई गीत भने नेपालमै छायाँकन गर्नेछौ । नेपालमा छायाँकन गने एउटा लभ सङ हुनेछ भने एउटा क्लब सङ हुनेछ ।

सिनेमाको लागी हामीले पहिला नाम्चेबजार लोकेशन छानेका थियौ । तर, त्यहाँ हाम्रो छायाँकनका सबै सामग्री पुर्याउन नसक्ने भएपछी नाम्चेको छायाँकन स्थगित गरेका हौ । अहिलेलाई ‘कृ’को लोकेशन काठमाडौँ, ललितपुर, भक्तपुर, पोखरा, धम्पुस, डुम्रे, बन्दीपुर र विदेश रहेको छ ।

अनमोललाई देशकै अनमोल बनाउन चाहन्छु !

नेपाली सिनेमामा स्टारडमको खडेरी परिरहेको बेला अनमोलले ब्याक टु ब्याक हिट सिनेमा दिएर स्टारडम खडेरीमा वर्षा सिर्जना गरेको छ ।राम्रो फ्यानहरु कमाएको छ । अन्यको जस्तो पैसाको लोभमा परेर जस्तो पायो त्यस्तो सिनेमामा काम नगरेर एक किसिमको स्टारडम मेन्टेन गर्न सफल भएको छ । यो पक्कै पनि एक बाबुका लागी निकै गर्व गर्न लायक कुरा हो ।

बाल्यकालमा अनमोल

अनमोलको बारेमा कुरा गर्दै गर्दा भुवन अलि भाबुक भए ।  र, अनमोलका बाल्यकालका कुरा सुनाउन थाले ‘मेरो डिभोर्स भए देखि नै अनमोल मसँगै छ । सानोमा मैले बाबुको नाताले चाहिने सबै थोक पुर्याए । जहाँसम्म की आमाको माया पनि मैले दिए । पाँच बर्षको उमेर देखिनै अनमोललाई के गर्न हुन्छ ? के गर्न हुदैन ? भन्ने कुरा सिकाए । मेरो करियर बनाउदा मलाई सिकाउने कोहि थिएन । ठक्कर खाए पनि आफैले खानु पर्थ्यो । अनि चोट सहदै पाठ सिक्नु पर्थ्यो । नजानेर लड्थे अनि आफै उठेर बाटो फेर्नु पर्थ्यो । मलाई राम्रो नराम्रो सिकाउने कोहि थिएन।

भुवनको जन्मदिनमा केक खुवाउदै अनमोल

तर, आज मेरो छोरालाई सिनेमाको बारेमा पाठ सिकाईरहदा आफैमा पनि म गर्व महशुस गर्छु की, मैले अनमोललाई अभिभावक मात्र होईन शिक्षकको रुपमा पनि गाइड गरिरहेको छु । अनमोलले मैले सिकाएको बाटोमा हिडेर मलाई नै सहयोग गरिरहेको छ । डिभोर्स पछी अनमोलले मेरो साथ छोडेको छैन । बुवाको नाताले अनमोल जस्तो छोरा पाउनुमा म एकदमै गर्व महशुस गर्छु ।

अनमोल केसी र भुवन केसी अस्ट्रेलियामा

म एउटा अनमोलको बुवा र नेपाली सिनेमामा ३५ बर्ष संघर्ष गरेको अभिनेताको हकमा अनमोललाई म देशकै अनमोल बनाउन चाहन्छु । चाहे त्यसको लागि मैले जस्तो सुकै कार्य किन गर्नु नपरोस । मेरो सपना जति पनि थियो अहिले अनमोलको कारणले गर्दा पुरा भए जस्तो लाग्छ ।

साम्राज्ञी पछीको सुपरस्टार ‘अदिति’

अदितिको सिनेमामा एकदमै राम्रो भूमिका छ । उसको काम पनि राम्रो छ । मोडलिङ गर्दै गर्दा साम्राज्ञीलाई जसरि मैले सिनेमामा भित्र्याएको थिए । र, अहिले साम्राज्ञीलाई नम्बर १ हिरोइन रुपमा सिने क्षेत्रले पाएको छ । त्यहिँ हक अदितिमा पनि लागु हुनेछ । यहिँ सिनेमाले नै अदितिलाई स्थापित बनाउने छ । उसको सुन्दरता र कामले गर्दा नेपाली सिनेमा क्षेत्रले अर्को एउटा बलियो अभिनेत्री पाउनेछ भन्नेमा म ढुक्क छु ।

कार्तिक ३ मा ‘कृ’

समयमै छायाँकन पुरा नहुँदा भदौ ८ को मितिमा रिलिज गर्न सकेनौ । दशैंमा  रिलिज गर्ने सोच बनाएका थियौ । तर, उक्त मितिमा हाईलाइट्स नेपालले नै जिम्मा लिएको ‘छक्का पन्जा २’ आउँने भएपछी ‘कृ’लाई तिहारसम्म धकेल्नु पर्यो । अब ‘कृ’ जसरि पनि तिहारको अवसर पारेर कार्तिक ३ मै रिलिज हुनेछ । साथै केहि दिनमा हामि ‘कृ’ सामग्री दर्शकका लागि रिलिज गर्नेछौ ।