युट्युबमा ‘ए मेरो हजुर २’को रेकर्ड, रुचाइयो साम्राज्ञी र सलिनको जोडी !

युट्युबमा ‘ए मेरो हजुर २’को रेकर्ड, रुचाइयो साम्राज्ञी र सलिनको जोडी !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । वर्षको प्रतिक्षित सिनेमा ‘ए मेरो हजुर २’को ट्रेलरले युट्युबमा रेकर्ड कायम गरेको छ । यो ट्रेलर नेपाली सिनेमाको इतिहासमा २४ घण्टा नबित्दै सर्वाधिक भ्यु पाउने ट्रेलर बनेको हो ।

यसअघि २४ घण्टा भित्र सर्वाधिक भ्युको रेकर्ड ‘लुट २’ले राखेको थियो । त्यतिबेला ‘लुट २’ले ३ लाख ३९ हजार भ्यु प्राप्त गर्दै रेकर्ड आफ्नो पोल्टामा परेको थियो । अब भने युट्युबमा २४ घण्टा भित्र सर्वाधिक भ्यु पाउने सिनेमाको ट्रेलर कुन ? भन्दा ‘ए मेरो हजुर २’को नाम आउने छ । हिजो ८ बजे युट्युबमा अपलोड गरिएको ट्रेलरलाई यो समाचार तयार पार्दासम्म ५ लाख ५ हजार ६२ पटक हेरिएको छ ।

साथै २४ घण्टा अगाडी रिलिज गरिएको ट्रेलर युट्युब ट्रेन्डीङको दोस्रो नम्बरमा पुगेको छ । युट्युबमा झरना थापा डेब्यु निर्देशनले राम्रो प्रतिक्रिया पाएको छ । अहिलेसम्म १३ हजार ४ सय ३१ लाइक पाएको ट्रेलरको डीसलाइक एकदमै न्यून छ । यसबाट ‘ए मेरो हजुर २’लाई दर्शकले कति मन पराए भन्ने अनुमान लगाउँन सकिन्छ ।

अघिल्ला रिलिज दुई गीतबाटै हाइप बनाएको ‘ए मेरो हजुर २’को ट्रेलरले अझ धेरै लोकप्रियता कमाउँदा यो सिनेमाले बक्सअफिसमा सकारात्मक उपस्थिति जनाउने समिक्षा गर्न थालिएको छ ।

यसै सिनेमाबाट डेब्यु गर्न थालेका सलिनमान बानियाँ र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको जोडीलाई अधिकांसले रुचाएका छन् । साथै सलिनलाई युट्युबमा अधिकांसले राइजिङ स्टारको रुपमा देखेको कमेन्ट गरेका छन् ।

भदौ १६ मा रिलिज हुने सिनेमामा साम्राज्ञी र सलिनका साथै सलोन बस्नेत, विल्सनविक्रम राई, बुद्दी तामाङ, अनुभव रेग्मी, सुमन पौडेल, अजश्र ढुंगाना, अनुराग कुँवर लगायतका कलाकारको अभिनय छ । सुहाना इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको सिनेमाका निर्माता सुनिलकुमार थापा हुन् ।