द सिनेमा टाइम्स, काठमाडौं । संगीतकार तथा गायक टंक बुढाथोकीको निर्देशनमा निर्माण हुने सिनेमा ‘मन बिनाको धन २’मा कलाकार भित्रिने क्रम अझै जारी छ । सरोज खनाल, विपिन कार्की, पूजा शर्मा, महेश त्रिपाठी, प्रकाश घिमिरे र किरण केसी अनुबन्धित भइसकेको सिनेमामा अभिनेत्री गौरी मल्ल अनुबन्धित भएकी हुन् । उनीसँग आइतबार निर्माण पक्षले लिखित सम्झौता गरेको हो ।
सिनेमामा गौरीको भूमिका र जोडीबारे कुनै जानकारी गराइएको छैन् । तर, सिनेमा निकट स्रोतका अनुसार उनी सरोज खनालको जोडी भएर देखिनेछिन् । यसअघि उनीहरूले ‘महामाया’, ‘चोट’, ‘तपस्या’, ‘सम्हालिन्छ कहिले मन’ र ‘सुब्बा साब’ जस्ता सिनेमामा एकसाथ काम गरिसकेका छन् । उनीहरू चार वर्षपछि फेरि एउटै सिनेमामा देखिन लागेका हुन् ।
टंक बुढाथोकी प्रोडक्सनको ब्यानरमा निर्माण हुने सिनेमाको कथा टंक स्वयंको हो भने पटकथा तथा संवाद शिवम् अधिकारीले तयार पारेका छन् । सिनेमाका गीतमा टंक स्वयंको संगीत रहनेछ । आगामी भदौ पहिलो साताबाट छायांकन सुरु गर्न लागिएको सिनेमामा विष्णु माया मैनाली निर्माताको रूपमा छिन् । सिनेमाको छायांकन काठमाडौं उपत्यका र मुस्ताङमा गरिनेछ ।
‘मन बिनाको धन’ संगीतकार बुढाथोकीको चर्चित गीतमध्ये एक हो । ७ वर्षअघि रिलिज भएको यस गीतलाई अहिलेसम्म युट्युबमा तीन करोडभन्दा बढी पटक हेरिसकिएको छ । यो बाल गायक अशोक दर्जीको पहिलो गीत समेत हो । यही नामको सिनेमामा पनि अशोक मुख्य भूमिकामा थिए । यसको दोस्रो भागमा भने उनको अभिनय रहने वा नरहनेबारे निर्माण पक्षले खुलाएको छैन् ।


प्रतिक्रिया