द सिनेमा टाइम्स, काठमाडौं । एक्सन सिनेमा ‘आउट ल’को निर्माण समूहले नयाँ सिनेमा घोषणा गरेको छ । यो समूहले आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच थिम पोस्टर सार्वजनिक गर्दै सिनेमा ‘बम्पर चिठ्ठा’ निर्माण गर्ने जानकारी दिएको हो । सिनेमाको निर्देशन बिक्की महर्जनले गर्नेछन् भने लगानी अमित अग्रहरी र निशा गुइदेको रहनेछ ।
सार्वजनिक थिम पोस्टरले नेपालको सांस्कृतिक सम्पदा र रहस्यमय वातावरणको झल्को दिएको छ । प्राचीन मन्दिरका दृश्यले कथाप्रति उत्सुकता जगाउने प्रयास गरेको छ । पोस्टरले सिनेमाको कथावस्तुबारे धेरै कुरा नखुलाए पनि नेपाली संस्कृति र मानवीय सम्बन्धलाई रोचक शैलीमा प्रस्तुत गरिने संकेत भने स्पष्ट रूपमा दिएको छ ।
स्याडो पिक्चर्सको ब्यानरमा बन्न लागेको यो सिनेमा नेपाली, हिन्दी, तेलुगु र फ्रेन्च (फ्रान्सेली) गरी चार भाषामा निर्माण हुनेछ । सिनेमालाई विश्वव्यापी रूपमा अमेजन प्राइम भिडियोमार्फत प्रदर्शन गरिने जनाइएको छ । सिनेमाको कथा निर्देशक महर्जन स्वयंले लेखेका हुन् । कलाकार तथा प्राविधिक टोलीबारे विस्तृत जानकारी केही समयपछि गराइने निर्माण पक्षले जनाएको छ ।
यसैबीच, यही समूहको अघिल्लो सिनेमा ‘आउट ल’ आगामी सेप्टेम्बर अर्थात् भदौमा अमेजन प्राइम भिडियोमार्फत विश्वव्यापी रिलिज हुने पक्का भएको छ । यसमार्फत २४० भन्दा बढी देशमा रहेका दर्शकमाझ सिनेमा पुग्ने विश्वास निर्माण टिमको छ । यो सिनेमा अमेजनमा रिलिज भएपछि ‘बम्पर चिठ्ठा’को छायांकन सुरु गरिने निर्माता अग्रहरीले जानकारी दिए ।


प्रतिक्रिया