‘शत्रु गते’ सफलताको काटियो केक, ६ दिने कमाई सार्वजनिक

‘शत्रु गते’ सफलताको काटियो केक, ६ दिने कमाई सार्वजनिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा ‘शत्रु गते’ सफलताको केक काटेको छ । सिनेमाले पहिलो तिन दिनकै कलेक्सनबाटै आफ्नो लगानी सुरक्षित गरिसकेको थियो ।

राजधानीका वितरक गोपालकाजी कायस्थ र मोफसल वितरक बिक्रम पराजुलीले सिनेमा सफल भएको खुसियालीमा पहिलो ६ दिनको व्यापारिक डाटा पनि सार्वजनिक गरेका छन् । यी दुई वितरकका अनुसार सिनेमाले शुक्रबारदेखि बुधबारसम्म राजधानीबाट मात्रै ३ करोड २५ लाख ग्रस कलेक्सन गरेको छ । त्यस्तै सिनेमाको मोफसल कलेक्सन २ करोड ३७ लाख छ ।

यसअर्थमा १ करोड ६० लाख बजेटमा निर्मित सिनेमाले ६ दिनमा ५ करोड ६२ लाखको कारोबार गर्न सफल भएको छ ।

वितरकहरु भन्छन ‘सिनेमाको राम्रो माउथ पब्लिसिटीले दोस्रो साता पनि उत्तिकै दर्शक आउने सङ्केत देखा पारेको छ । सिनेमाले दोस्रो सातामा पनि पहिलो साताकै हारहारीमा हल र शोज पाएको छ ।’

कलेक्सन सार्वजनिक गरिने क्रममा फिल्मका निर्माता तथा कलाकार हरिवंश आचार्य , किरण केसी , आँचल शर्मा र निर्देशक प्रदीप भट्टराई उपस्थित थिए । फिल्मलाई ‘जात्रा’ निर्देशक प्रदीपको यो दोस्रो फिल्म हो । फिल्मलाई मह सञ्चारको ब्यनारमा निर्माण गरिएको छ भने यसका प्रस्तुतकर्ता किरण केसी हुन् । फिल्ममा हरिवंश आचार्यको कथा रहेको छ ।

पटकथालाई निर्देशक भट्टराई र दीपकराज गिरी तथा संवाद भने निर्देशक भट्टराईले कथाकार हरिवंश आचार्यसंग मिलेर तयार गरेका हुन् । यसमा छायाँकन दिर्घ गुरुङको रहेको छ भने सम्पादन मित्र गुरुङले गरेका हुन् । यसमा दीपकराज गिरी , दीपाश्री निरौला , नरेन्द्र कंसाकार , शिवहरी पौडेल , यसोधा श्रेष्ठ र रमिला आचार्य निर्माता रहेका छन् ।