‘रोमियो एण्ड मुना’ ले दर्शक हसाउँछ, रुवाउँछ : नरेश कुमार केसी

‘रोमियो एण्ड मुना’ ले दर्शक हसाउँछ, रुवाउँछ : नरेश कुमार केसी

द सिनेमा टाइम्स
0
Shares

दिनेश सिटौला ,द सिनेमा टाइम्स काठमाडौं –। रिलिजअघि ‘निभ्न लागेको दियो’ ले खासै चर्चा कमाएको थिएन । जब फिल्म रिलिज भयो, त्यसपछि चर्चा हुन थाल्यो ।यही फिल्मसँगै नरेशकुमार केसीले पनि आफ्नो छवि राम्रो निर्देशकका रुपमा बनाए ।अहिले केसी निर्देशित फिल्म ‘रोमियो एण्ड मुना’ सिनेमा हलमा चलिरहेको छ । फिल्मले सकारात्मक प्रतिक्रिया पाइरहेको छ । फिल्म हेरेका दर्शकले मिश्रितप्रतिक्रिया पनिदिइरहेका छन् तर धेरैले विनय र सृष्टिको लभस्टोरीलाई रुचाएका छन् ।

खासगरी फिल्मको प्रस्तुतीकरणको तारिफ गरिएको छ ।यसको एउटा फरक पक्ष के छ भने, पात्रहरु सबै नायक छन् । परिवेश र मानसिकताले पात्रलाई आफै भिलेन बनाइदिन्छ ।निर्देशक केसी यही कारण फिल्मको स्किृप्टमा समय लागेको बताउँछन् । उनका अनुसार फिल्मको कथा तयार हुनमात्रै झण्डै एक वर्ष लागेको थियो ।‘कथा सामान्य हो, तर यसको फिनिसिङमा समय लागेको हो, पात्रलाई कसरी न्याय दिने र स्थापित बनाउने भन्ने कुरामा निकै ख्याल गरेका थियौं’, केसी भन्छन् ।झण्डै तीन वर्ष खर्चेर सकाइएको फिल्ममा प्रचार भने खासै गरिएन । यसो गर्दा फिल्म राम्रो छ भन्ने पनि कति दर्शकले थाहा पाएनन् ।

‘बजारको मागअनुसार प्रचारमा हामी कहीँ चुक्यौं होला तर फिल्म मेकिङमा मैले जति गर्नुपर्ने थियो, त्यति गरेको छु’, केसी थप्छन्, ‘हामीले सीजीआई (कम्प्युटरको सहयोगमा क्यारेक्टर निर्माण गरिने प्रविधि) मा पनि उत्तिकै ख्याल गरेका छौं ।’हलिउड तथा बलिउडमा सयौंको सङ्ख्यामा निर्माण गरिने सीजीआईलाई नेपालमा दश÷बाह्र जनाको टिमले निर्माण गर्न सक्ला कि नसक्ला भन्ने थियो । आइड्रिम एनिमेशनले बनाउन सकिने भन्दै आँट ग–यो ।समय लाग्यो । तर, बन्यो । अहिले फिल्मको मुख्य आकर्षक त्यही सीजीआई बनेको छ ।

फिल्मको कथा तयार भयो । कथामा विनय श्रेष्ठ र सृष्टिको जोडी बाँधियो । विनयले त यसअघि पनि कैयन् फिल्ममा काम गरिसकेका थिए । ‘फिल्ममा सृष्टिलाई लिने कुनै योजना नै थिएन, क्यारेक्टर पनि उहाँलाई फिट होला कि नहोला भन्ने थियो, निर्माता प्रशन्न गोपालीले एकपटक भेटौं न त भन्नुभयो’, उनले फिल्ममा सृष्टिलाई लिनुको कारण खुलाउँदै भने, ‘सृष्टिले आफ्नो भूमिकामा यति चासो देखाउनुभयो, गाउँले पात्रको भूमिकामा अभिनय गर्न गरेको मेहनतले मन जित्यो ।’फिल्मको पात्रलाई पूर्ण न्याय दिन सृष्टिले कडा मेहनत गरेको केसी बताउँछन् । त्यसको प्रभाव फिल्ममा राम्रै देखिएको छ ।

‘कुनै पनि निर्देशकलाई आफ्नो फिल्म पूर्ण चित्त बुझ्दै होला पनि, केही कमजोरी पक्कै हुन सक्छन्, तर हामीले कथालाई न्याय गरेरै अगाडि बढाउन खोजेका छौं ।’, केसी थप्छन् ।उनी भन्छन्, ‘रोमियो एण्ड मुना’ डाइङ क्यान्डलभन्दा फरक स्वादको फिल्म हो ।बजारमा हल्ला चलेको थियो, निर्देशक र निर्मातासँग विवाद भएको थियो ।हल्लाको वास्तविकता खुलाउँदै निर्देशक केसी भन्छन्, ‘त्यस्तो ठूलो विवाद भएको होइन, तर कहिलेकाहीँ निर्देशक र निर्माताबीच व्यावसायिक र कलाका नजरले हेर्दा सामान्य विवाद हुनसक्छ, जुन स्वभाविक र संसारभर हुने कुरा हो ।

’विशुद्ध लभस्टोरी कथामा बनेको चलचित्र ‘रोमियो एण्ड मुना’ भने प्रेमकथा मन पराउने दर्शकले पक्कै रुचाउने छन् भन्नेमा फिल्म युनिट ढुक्क छ । फिल्मका धेरै कुराले दर्शकको मन बुझाउनेमा आफू ढुक्क भएको केसी बताउँछन् ।भन्छन्, ‘फिल्म रिलिज भइसकेको छ, जुन अन्तर्वार्तामा पनि मैले फिल्म राम्रो छ भन्दा उही कुरा दोहो–याएजस्तो हुन्छ, तर फिल्म राम्रो बनेको छ, फिल्म हेरेपछि दर्शक हाँस्नुहुन्छ, रुनुहुन्छ ।’