द सिनेमा टाइम्स काठमाडौं – श्रावण १ गतेबाट राजधानीका २० ओटा हलमा बक्सअफिस प्रणाली लागु भएको थियो । बक्सअफिस लागु भएपछि निर्मातालाई खुशी त दिएको छ तर अझै निर्माता आश्वस्त हुन सकिरहेको छैनन् । काठमाडौंमा श्रावण १ गतेबाट बक्सअफिस लागु भएपनि निर्माताले अझै सर्वरबाट चुस्त रुपमा ठाटा हेर्न पाएका छैनन् ।
बिहिबार चलचित्र पत्रकार संघले आयोजना गरेको ‘बक्सअफिस कार्यान्वयनका चुनौती’ विषयमा नेपाल चलचित्र संघको हलमा एक कार्यक्रम गरी खुला रुपमा निर्माता, हलवाला र बिकाश बोर्डका प्रतिनिधि बिच छलफल गरिएको थियो । उक्त छलफमा बिकाश बोर्ड अध्यक्ष निकिता पौडेलले प्राविधिक समस्याका कारण रिपोर्ट हेर्न समस्या भएको बताइन । उनले भनिन् – ‘सफ्टवेयरको समस्या सुल्भिmसकेको छ । अब हलको व्यवस्थापनको पाटोमा केही समस्या देखा परेका छन् जुन सुल्झन समय लाग्न सक्छ । सायद अबको तीन महिनामा हामीले हिसाब किताब दुरुस्त भेट्छौं ।
दुई साताअघि रिलिज भएको ‘भैरे’ चलचित्रका निर्देशक एभरेष्ट सुर्य बोहराले बक्सअफिस लागू भएपछि पनि ललितपुरको गुण हलमा फर्जी टिकट काटेर दर्शकलाई हलमा प्रवेश गराइएको बताए । उनको समस्यामा जवाफ दिदै बोर्ड अध्यक्ष पौडेलले अनौपचारिक रुपमा यो समस्याका बारेमा जानकारी भए पनि सम्बन्धित पक्षबाट लिखित उजुरी नआउँदा कारबाही गर्न अप्ठेरो परेको बताइन् ।
छलफलमा सहभागी निर्माता संघका अध्यक्ष आकाश अधिकारीले बोर्डले तीन हप्ताको समय माग गरेकाले देखिएका समस्यामाथि प्रतिक्रिया नजनाएको बताए । ‘मिडियामा आएका कुरामा हामीले पनि चासो राखिराखेका छौं । तर बोर्डले हामीलाई तीन हप्ताको समय दिनुस् भन्नुभएको छ । त्यो समयसीमा पूरा भएपछि निर्माता संघ पनि सक्रिय हुन्छ,’ अधिकारीले भने ।
चलचित्र संघका अध्यक्ष प्रदीप उदयले भने नेपालमा लागू भएको बक्स अफिस विश्वमै सरकारका तर्फबाट लागेको पहिलो बक्स अफिस भएको बताउँदै नियत सफा नभएसम्म सानातिना समस्या आइरहने बताए । ‘धेरै साथीहरूले हलमा मात्रै समस्या छ भन्ने हिसाबले आफ्नो कुरा राख्नु भयो, त्यो सही हैन । नेपालमा नीतिको कुरा मात्र गरेर हुन्न । व्यवहारिक छ कि छैन भन्ने कुरा पनि हेर्नुपर्छ,’ उदयले भने ।


प्रतिक्रिया