द सिनेमा टाइम्स, काठमाडौं – शुक्रबार देखि प्रदर्शनमा आएको नेपाली सिनेमा ‘गुनगुन’ निर्माण टिम र अष्टनारायण हलबिच आरोप प्रत्यारोप चलेको छ । शुक्रबार रिलिज भएको सिनेमा गुनगनले शुक्रबार दर्शकको राम्रो प्रतिक्रिया सहित हलमा चल्दै गर्दा शनिबार अष्टनारायण हलले आफुलाई नसोधी सिनेमा हटाएको आरो निर्माता तथा निर्देशक पुकार भट्टराईले लगाएका छन् ।
सिनेमा हलबाट उतारिएपछि निर्माता तथा निर्देशक पुकार भट्टराई अष्टनारायण हललाई कारबाहीको माग गर्दै चलचित्र निर्माता संघ पुगेका छन् । उनले सिनेमाले राम्रो कमाई गर्ने शनिबारको दिन नै हलमा सिनेमा नलगाएको भन्दै निर्मातालाई मार्न खोज्ने हललाई कारबाही गर्न र क्षतीपूर्ती भराउन अपिल गरेका छन् ।
सिनेमाका निर्देशक पुकार भट्टराईले आफ्नो हललाई कारबाही गर्न माग गरेपछि अष्टनारायणका संचालकले विज्ञप्ती नै निकाल्दै यसको खण्डन गरेका छन् । कात्तिक ३० गते रिलिज भएको सिनेमामा दर्शक नै नभएकाले शनिबारदेखि हलबाट हटाइएको संचालकले बताएका छन् ।
अष्टनारायण हलका संचालक सोहित मानन्धरले शुक्रबार बिहानी शोमा दर्शक नभएर शो बन्द भएको, साढे ११ बजे १२ जना र साढे २ बजे २६ जना मात्र दर्शक भएको बताएका छन् । २५ प्रतिशत भन्दा कम अकुपेन्सी भएपछि सिनेमा हलबाट उतार्न पाइने संझौता अनुसार हलबाट उतारिएको मानन्धरले उल्लेख गरेका छन् ।


प्रतिक्रिया