द सिनेमा टाइम्स, काठमाडौं – शुक्रबारबाट तीन नयाँ नेपाली सिनेमाले प्रदर्शन सुरु गरेका छन् । ती सिनेमा हुन्- ‘सुश्री सम्पत्ति’, ‘डोली’ र ‘कथा ७२’ । तीनै सिनेमा फरक-फरक ‘सब्जेक्ट’ मा निर्माण भएको छ । कमेडीप्रधान सिनेमा ‘सुश्री सम्पत्ति’लाई सुव्रत आचार्यले निर्देशन गरेका छन् ।
सिनेमामा सुश्री र सम्पत्तिको पछाडि दौडिँदा दुई युवाको जीवनमा आउने उचारचढावको कथा पेश गरिएको छ । बुधबार राजधानीमा गरिएको स्पेशल शोमा सेलिब्रेटीहरुले सिनेमालाई रुचाएका थिए ।
‘हुकुम बक्सियोस्’ बोलको गीतका कारण चर्चामा रहेको सिनेमामा सलोन बस्नेत, विनोद न्यौपाने, राजाराम पौडेल, प्रमोद अग्रहरी, विशादर बस्नेत, सारा सिर्पाली, सुनिता श्रेष्ठ ठकुरीको अभिनय छ । अभिनेत्री प्रियंका कार्कीले एक आइटम गीतमा ठुम्का लगाएकी छन् ।
रमेश त्वायना प्रस्तुतकर्ता रहेको ‘सुश्री सम्पत्ति’ को कथा निर्देशक सुव्रत आफैंले लेखेका हुन् ।सिनेमाको निर्मातामा विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकार रहेका छन् । अभिमन्यू ‘निरवी’ र निर्देशक आचार्यको डाइलग रहेको सिनेमाको स्क्रिनप्ले अभिमन्यूकै रहेको छ । सिनेमालाई भरत रेग्मीले सम्पादन गरेका हुन् ।
यस्तै ‘कथा ७२’ को कथा छोरा र आमाबीच मनोवैज्ञानिक मनमुटावमा आधारित छ । प्रवीण स्याङ्बोको निर्देशनमा बनेको सिनेमा २०७२ को भुइँचालोले हल्लाइदिएको जिन्दगीमा निर्माण भएको छ । सिनेमामा आकाश मगर, सुप्रिया राना, भुइसल लामा, पल्मो सन्जु तामांङ, केदार श्रेष्ठ, शारदा अधिकारीको अभिनय रहेको छ ।
दुई सिनेमासँग एकसाथ भिडन्त आरम्भ गरेको ‘डोली’ मा किशोर खतिवडा, पृथ्वीराज प्रसाई, अर्जुन गुरुङ,सानीया खान, संगीता नापीत,नवीन रेग्मी, प्रशान्त भण्डारी, प्रिया रिजाल, सतिश खत्री, दामोदर खतिवडा, हिउवाला गौतललगायतका कलाकारले अभिनय गरेका छन् । राजबहादुर सानेले सिनेमा निर्देशन गरेका हुन् ।


प्रतिक्रिया